… जसले भियतनाम र नेपाललाई पर्यटनमा जोडाए

‘भियतनाममा सिधा उडान भए ४० हजारमै दुईतर्फी टिकट पाइन्छ’

काठमाडौं । नेपालीहरूको भ्रमणको प्रमुख अन्तर्राष्ट्रिय गन्तव्य थाइल्यान्ड नै भए पनि पछिल्लो समय भियतनाम पनि एउटा प्रमुख गन्तव्य बन्ने गरेको छ । करिब २० देखि ३५ डिग्रीको तापक्रम, समुद्री तट, पर्यटकको आतिथ्य सत्कार र सस्तो ठाउँ भएकाले भियतनाम पछिल्लो समय नेपालीहरूको प्रमुख गन्तव्य बनिरहेको छ ।

अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२३ मा नेपालबाट ९४६ जना नेपालीहरू घुम्नकै लागि भनेर भियतनाम गएका छन्, जुन नेपालीहरू घुम्न जाने देशको सूचीमा १९ औँ नम्बरमा रहेको छ । सन् २०२४ को अन्तिमसम्ममा भियतनाम घुम्ने नेपालीको सङ्ख्या करिब ३ हजार पुग्ने अनुमान गरिएको छ ।

कुनै समय नेपाली पर्यटन क्षेत्रका लागि नामै नसुनिएको भियतनाममा नेपाली पर्यटक जान थालेको करिब २ वर्ष मात्रै भयो । टुर प्याकेजकै रूपमा भियतनाम चिनाउने श्रेय भने हात्तीसारको रुप्से होलिडेजलाई जान्छ । रुप्से होलिडेजले नै चार्टर उडानबाट भियतनामको औपचारिक टुर प्याकेजको सुरुवात गर्दा यति बेला अन्य धेरै ट्राभल एजेन्सीहरूले भियतनामको टुर प्याकेज बेच्न थालेका छन् । भियतनामबाट त्यहाँको पर्यटक नेपाल ल्याउन समेत प्रयास गरिरहेका भियतनाम पर्यटनका एक योजनाकार समेत रहेका रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीसँग भियतनाम पर्यटनको सेरोफेरोमा रहेर कुराकानी गरिएको छ । कुराकानीको पूर्ण अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईँलाई नेपाल र भियतनामबिच पर्यटक आदानप्रदान गर्ने सोचचाहिँ कसरी आयो ?
सन् २००७–२००८ तिर पहिलो पटक म भियतनाम जाँदा विकासको हिसाबले नेपाल जस्तै थियो । नेपाल र भियतनामको विकास लगभग उस्तै अवस्थामा थियो । नेपालको पुराना हाइवे जस्तै थिए त्यहाँका सडकहरू पनि । त्यति बेला भियतनाम निकै सस्तो थियो र पर्यटन क्षेत्रको विकास पनि भएको थिएन ।

पहिलो पटक भियतनाम गएको करिब ७ वर्षपछि फेरि सन् २०१४–२०१५ मा म भियतनाम पुगेँ । त्यति बेला त्यहाँका मुख्य सहरहरूको सडक धेरै राम्रो भइसकेको थियो । सहरहरूमा सडक बिस्तारको काम तीव्र रूपमा चलिरहेको देखेँ ।
कोभिड–१९ आएपछि नेपालबाट बाहिर घुम्न जाने गन्तव्यहरू सीमित बन्यो । कोभिडअघि घुमघामका लागि नेपालीको रोजाइमा रहको इजिप्टले कोभिडपछि नेपालीलाई भिसामा एकदमै कडाइ गरिदियो । युरोपका अन्य मुलुकको भिसामा पनि कडाइ भयो, गन्तव्यहरू साँघुरिँदै गए । दुबई, थाइल्यान्ड, मलेसिया मात्र सजिलै जान सकिने भयो । इन्डोनेसियाले पनि अन अराइभल भिसा बन्द ग¥यो र भिसा शुल्क पनि अत्यधिक महङ्गो बनाइदियो ।

कोभिडपछि म कुनै नयाँ ठाउँ हेर्नुपर्छ, गर्नुपर्छ भनेर कहाँ गर्दा हुन्छ भन्दै फेरि भियतनाम घुम्न गएँ । सन् २०२२ मा भियतनाम गएपछि लगभग एक महिना भियतनाम घुमेर त्यहाँको पर्यटकीय गतिविधि, नेपालीहरूका रोजाई र सम्भावनाबारे अध्ययन गरेँ ।
सन् २०२२ मा तेस्रो पटक जाँदा भियतनाम विकासको हिसाबले धेरै अगाडि बढिसकेको पाएँ । २००७ मा देखेको भियतनाम सन् २०२२ मा पुग्दा जापान, कोरियाको लेभलमा पुगिसकेको रहेछ । त्यहाँको शिष्टाचार, पर्यटकलाई स्वागत गर्ने तरिका र सरकारको भूमिका धेरै फरक भइसकेको रहेछ ।

सरकार नै पर्यटन क्षेत्रमा लागि परेमा ५–७ वर्षमा कति फरक ल्याउन सकिन्छ भन्ने कुरा भियतनामले उदाहरण नै बनाएको छ

म सन् २००७ मा जाँदा त्यहाँ पर्यटनमा फोकस नै थिएन । कृषि र उद्योगमा मात्र सरकारको ध्यान थियो । अहिले त्यहाँ सरकारले नै पर्यटकलाई केही समस्या भयो भने तत्काल उद्धारको काम गर्छ । कोहीले आक्रमण गर्‍यो, पुलिस आइहाल्छ । सुरक्षाको दृष्टिकोणमा कहीँ कतै पनि सम्झौता गरेको छैन । सरकार नै पर्यटन क्षेत्रमा लागि परेमा ५–७ वर्षमा कति फरक ल्याउन सकिन्छ भन्ने कुरा भियतनामले उदाहरण नै बनाएको छ ।

म त्यहाँको हानोई, हालोङ, होचिमिन, फु–क्युब भन्ने आइल्यान्ड सबैतिर पुगेँ, हेरेँ, घुमे । सबैतिर हेर्दा अन्य देशहरूसँग प्याकेजको मूल्य तुलना गर्दा सस्तो पनि पर्ने भयो । भियतनामको शुल्क फिलिपिन्स, थाइल्यान्ड, इन्डोनेसियाको बाली आदिसँग तुलना गर्दा सस्तो भयो । भियतनाममा समुद्री तट, ऐतिहासिक स्थल, खाना तथा स्ट्रिट फुड सबै कुरा राम्रो लाग्यो । त्यसपछि मैले नेपालीहरूको लागि राम्रो र उपयुक्त टुर हुन सक्छ भनेर एउटा खाका बनाएर फर्किएँ ।

कुन ठाउँलाई प्राथमिकतामा राखेर काम गर्न सकिन्छ भनेर हेर्दा हामीले आफ्नो भ्रमणमा दानाङलाई राम्रो देख्यौँ र अरू सहरभन्दा अलि फरक पाइयो । किनभने दानाङमा नेपालीहरूको लागि समुद्री तट अर्थात् बिच धेरै राम्रो थियो । त्यहाँ स्ट्रिट फुडहरू पनि थियो, त्यो पनि धेरै सस्तोमा । त्यसबाहेक त्यहाँ गोल्डेन बिच पनि छ । साथै बाना हिल पनि नजिकै भएको कारण दानाङलाई नै प्राथमिकतामा राख्नुपर्छ भनेर हामीले काम सुरु गर्‍यौँ ।

त्यही समयमा हामीले त्यहाँका ट्राभल एजेन्सीहरूसँग कुरा गरेर नेपालबारे के थाहा छ भनेर सोध्यौँ । दानाङबाहेक हानोई सहरमा बुद्धिष्ट कम्युनिटीको मात्रै पर्यटक आदानप्रदान गर्ने एउटा कम्पनी भेट्यौँ । उक्त कम्पनीले वर्षमा ४० वटा जति चार्टर उडान त भारतको गयामा मात्रै गर्ने रहेछ । उनीहरू भारतबाटै लुम्बिनीसम्म पनि आउँदा रहेछन् । नेपाल फोकस गर्दा के हुन्छ भनेर सोधेपछि त्यहाँको ट्राभल एजेन्सीले ठिक छ, हामी कोसिस गर्छौँ भन्ने कुरा गर्‍यो ।

अन्य बाटो हुँदै नेपाल आउने र भियतनाम जाने हवाई भाडा एकदमै महङ्गो थियो । हामीसँग सिधा उडान थिएन । मलाई पनि भियतनाम जान ६–७ घण्टा लाग्छ होला भन्ने लागेको थियो । टाढा छ र सिधा उडान सम्भव छैन होला जस्तो लागेको थियो । तर हिमालय एयरलाइन्ससँग कुरा गर्दा यो जम्मा २ घण्टा ४५ मिनेट लाग्ने थाहा भयो । त्यसपछि त्यो सम्भव छ भन्ने लाग्यो । त्यसपछि नेपालबाट सिधै भियतनाममा चार्टर उडान गर्ने र सुरुको एक दुई उडानमा घाटा लागे पनि पछि यो सम्भव छ भन्ने लागेपछि हामीले भियतनामका लागि चार्टर उडानबाट लैजाने गरी फिक्स्ड डिपार्चरको तालिका बनाएर प्याकेज बनायौँ ।

हाम्रो उद्देश्य भनेको भियतनामी पर्यटकलाई नेपाल ल्याउने नै हो र नेपालबाट पनि पर्यटकलाई भियतनाम घुमाउन सकिन्छ भन्ने आत्मविश्वास थियो । हामीले दुवै तर्फबाट मिहेनत गर्‍यौँ, अनि सुरु भयो पर्यटनमार्फत भियतनाम र नेपाल जोड्ने दिनको सुरुवात ..

हाम्रो पहिलो उद्देश्य भनेको भियतनामी पर्यटकलाई नेपाल ल्याउने नै हो र नेपालबाट पनि पर्यटकलाई भियतनाम घुमाउन सकिन्छ भन्ने आत्मविश्वास थियो । किनभने उताको कम्पनीको काम गर्ने तरिकाले त्यो सकिन्छ भन्ने विश्वास बढाएको थियो । त्यसपछि हामीले दुवै तर्फबाट मिहेनत गर्‍यौँ । अनि सुरु भयो पर्यटनमार्फत भियतनाम र नेपाल जोड्ने दिनको सुरुवात ।

त्यो भन्दा पहिले पनि नेपाली भियतनाम त जान्थे होला नि ?
पहिले पनि जान त जान्थे, तर थोरै जान्थे । त्यति बेला काठमाडौंबाट थाइल्यान्ड, भियतनाम, मलेसिया आदिको प्याकेज बेचिन्थ्यो । भियतनाम मात्र भनेर जाने चाहिँ एकदमै थोरै थिए । मारवाडी समुदायका व्यापारीहरू भने १०–१५ दिनका लागि रिसोर्टमा गएर बस्ने गरी जाने गरेका थिए, तर इकोनोमी प्याकेजको व्यवस्था थिएन ।

भियतनामले पर्यटनलाई कहिलेदेखि बढी ध्यान दिएको रहेछ ?
सन् २०१४ देखि सरकारले पर्यटन क्षेत्रमा तीव्र रूपमा लगानी सुरु गरेको रहेछ । तर परिणाम भने २०१६ तिरबाट देखिन थालेको हो । विकसित देशहरूको लागि पनि भियतनाम निकै चर्चित भइसकेको छ । अहिले भियतनाममा चाइना र भारतबाट जाने पर्यटक भन्दा पनि बढी दक्षिण कोरिया, जापान आदि देशबाट हुने गरेको छ ।

२०२३ को प्रयासपछि सन् २०२४ मा केही व्यापारिक समूह र घरानाहरूले नै भियतनाम टुरबारे इच्छा देखाउन सुरु गरे

भियतनाममा नेपालबाट पर्यटक आदानप्रदान कहिलेदेखि सुरु गर्नुभयो ?
हामीले २०२३ को अक्टोबर १० बाट सुरु गर्‍यौँ । त्यो बेलामा हामीले लगातार ३ वटा चार्टर उडान गर्‍यौँ र दुईतर्फी गर्दा ६ वटा उडान भयो । सन् २०२३ मा हामीले भियतनामबाट धेरै पर्यटक नेपाल ल्याउन नसके पनि नेपाल र भियतनामबिच सिधा उडान सम्भव छ र पर्यटक आदानप्रदान गर्न सकिन्छ भन्ने सन्देश दिन सक्यौँ । २०२३ को प्रयासपछि सन् २०२४ मा केही व्यापारिक समूह र घरानाहरूले नै भियतनाम टुरबारे इच्छा देखाउन सुरु गरे । त्यसपछि पूर्ण सिट क्षमतामा विमान उडाउन सक्ने स्थिति भएपछि टुर प्याकेज पनि सस्तोमा बेचेर नेपाल भियतनाम पर्यटन साझेदारीमा सहजताको सुरुवात भयो ।

नेपालबाट पहिलो पटक भियतनाममा चार्टर उडान गर्दा यताबाट जाने र उताबाट आउनेको सङ्ख्या कति थियो ?
पहिलो उडानमा काठमाडौंबाट जाने लगभग १५० जना थिए भने विमानको सिट क्षमता १८० जनाको थियो । उताबाट आउने १३० जना जति थिए । दोस्रो, तेस्रो उडानमा भने जाने आउने सबै फुल थियो । त्यसपछि सन् २०२४ को जनवरीमा अर्को चार्टर उडान गरियो, त्यति बेला उताबाट आउने फुल नै थियो भने यताबाट जानेको सङ्ख्या भने अलि कम थियो । त्यति बेला भियतनामबाट आउने शतप्रतिशत पर्यटक बुद्धिष्ट पर्यटक थिए र उनीहरू धार्मिक पर्यटनका लागि नेपाल आएका थिए ।
त्यसपछि पनि हामीले भियतनाम र नेपाल जोड्न सिधा उडानका लागि चार्टर उडान गर्न खोजेका थियौँ तर नेपालमा हवाई इन्धनको मूल्य बढेकाले सीमित मात्रामा एयरलाइन्सहरू चार्टर उडानका लागि तयार भए भने मूल्य पनि महङ्गो भयो । त्यसपछि चार्टर उडान त्यति सहज भएन । यद्यपि अब डिसेम्बरमा फेरि चार्टर उडान गर्ने गरी हामीले तयारी गरिरहेका छौँ, तर कन्फर्म नै भइसकेको भने छैन । दुईतर्फी नै पर्यटक पर्याप्त मात्रामा जान र आउन इच्छुक छन्, केही प्राविधिक विषय मिलाउनु पर्ने भएकाले त्यसका लागि तयारी गर्दै छौँ ।

भियतनाम छोटो गन्तव्यको उडान पनि हो, सातामा दुई वटासम्म उडान राखियो भने यो गन्तव्य सहज र नाफामूलक हुन सक्छ…

भियतनामी पर्यटक नेपाल घुम्न आउँछन् भन्ने विश्वास लाग्यो तपाईँलाई ?
हामीलाई भियतनामीहरू यहाँ आउँछन् भन्ने लाग्नुको मुख्य कारण भनेको उनीहरूको आर्थिक हैसियत दैनिकरुपमा बढ्नु नै हो । उनीहरू घुम्न एकदमै मन पराउँछन् भने हाम्रो लागि अर्को राम्रो कुरा भनेको त्यहाँ बौद्ध धर्मावलम्बीहरू धेरै छन् । बुद्धिष्टहरु नेपाल आउन धेरै मन पराउँछन् । त्यसलाई फोकस गरेर नेपाल पर्यटन बोर्ड, नेपाल एयरलाइन्सले पनि केही गर्नुपर्छ जस्तो लाग्छ । नेपाल एयरलाइन्सले कतिपय उडानहरू घाटामा उडाइरहेको छ भन्ने सुन्नमा आउँछ । यस्तो अवस्थामा भियतनाम एकदमै महत्त्वपूर्ण गन्तव्य हो जस्तो लाग्छ । भियतनाम छोटो गन्तव्यको उडान पनि हो, सातामा दुई वटासम्म उडान राखियो भने यो गन्तव्य सहज र नाफामूलक हुन सक्छ । किनभने भियतनामबाट जापान, कोरिया, अस्ट्रेलिया जाने भाडा पनि सस्तो छ । त्यस कारण नेपाल एयरलाइन्सका लागि समेत यो गन्तव्य राम्रो गन्तव्य बन्न सक्छ ।


भियतनामी पर्यटक नेपालमा आउँदा के चाहँदा रहेछन् ?
बुद्धिष्टहरुको त केही गुनासो नै हुँदैन । उनीहरू स्वयम्भू जान्छन्, ह्वाइट गुम्बा जान्छन्, साँगा र नमो बुद्ध पनि जान्छन् । काठमाडौंबाहिर हलेसीमा एउटा बुद्धिष्ट क्याम्प छ त्यहाँ पनि जान खोज्छन् । हलेसीमा बसेर पढेको एक जना भियतनामी गुरु रहेछन्, उनले गाइड गर्ने भएकाले पनि उनीसँग जोडिएका व्यक्तिहरूलाई एक पटक हलेसीको दर्शन गरे पुण्य कमाइन्छ भन्ने रहेछन् र त्यहाँ पनि जान चाहन्छन् ।

वर्षमा करिब १० हजार भियतनामी बुद्धिष्ट पर्यटक नेपाल ल्याउन सकिन्छ ……

नेपालमा सडक राम्रो बनाउने र सिधा उडान गर्ने हो भने भियतनामबाट ठुलो सङ्ख्यामा पर्यटकको आवतजावत सम्भव छ । भियतनाममा रहेका मेरो ट्राभल एजेन्टका अनुसार वर्षमा करिब १० हजार भियतनामी बुद्धिष्ट पर्यटक नेपाल ल्याउन सकिन्छ ।

ती पर्यटकलाई लुम्बिनीमा जोड्न चाहिँ सकिँदैन ?

नेपाल घुम्न जाने भनेपछि कुनै न कुनै रूपले हलेसीमा बसेका गुरु नै जोडिँदा रहेछन् । उनै गुरुको सल्लाह अनुसार चल्ने भएकाले उनीहरूले लुम्बिनी भन्दा पनि ह्वाइट गुम्बा, हलेसी, स्वयम्भू बढी जान खोज्ने रहेछन् । लुम्बिनी चाहिँ उनीहरूलाई भारतको गयाबाट जान सकिन्छ भन्ने लाग्ने रहेछ । प्रायजसो भियतनामी बुद्धिष्टलाई बुद्धको जन्मभूमि नेपालको लुम्बिनी हो भन्ने थाहा नै रहेनछ । उनीहरूलाई त बुद्ध भारतको गयाको हो भन्ने रहेछ । यसको बारेमा अहिलेसम्म हामीले उनीहरूलाई बुझाउन सकेका छैनौँ । यसैले भियतनाममा लुम्बिनी भने खासै प्रख्यात छैन ।

तपाईँले २०२३ देखि अहिलेसम्म कति भियतनामी बुद्धिष्ट पर्यटकलाई नेपाल ल्याउनुभयो होला ?
हामीले लगभग एक हजार जना पर्यटकलाई नेपाल ल्यायौँ ।

भियतनामी पर्यटक कतिको खर्च गर्ने प्रकृतिका हुन्छन् ?
भियतनामी पर्यटकहरू खर्च गर्ने किसिमकै हुन्छन् । उनीहरू पाँचतारे होटेलमा बस्न मन पराउँछन् । उनीहरूलाई दिने प्याकेजमा गुनासो नै छैन । विशेष गरी काठमाडौं बस्नेहरूलाई कुनै गुनासो नै छैन । उनीहरूको गुनासो भनेको नेपालमा जहाज ल्यान्ड गर्दा राति हुने र फर्किँदा बिहानै जानुपर्नेमा थियो । यदि कुनै एयरलाइन्सले सिधै उडान सुरु गरेमा यो सेक्टर सफल हुन्छ र नाफा पनि हुन्छ भन्ने मलाई लाग्छ । भियतनामबाट जापान जाने एकतर्फी भाडा करिब १५ हजार नेपाली रुपैयाँमै पाइन्छ । त्यसैले काठमाडौं भियतनाम जोड्न सकियो भने जापान, कोरियाको चहलपहल पनि बढ्छ, त्यो क्षेत्रको उडान सस्तो हुन्छ जस्तो लाग्छ मलाई ।

सन् २०२५ मा कम्तीमा ५ हजार भियतनामी पर्यटक नेपाल ल्याउने लक्ष्य छ…

हामीले भियतनाम नै छान्नुको कारण त्यहाँको तीव्र आर्थिक विकास पनि हो । दुरीको हिसाबले हामी एकदमै नजिक छौँ । हाम्रो सिधा उडान नभएर मात्रै हो, नत्र यो सफल गन्तव्य बन्न सक्नेमा कुनै शङ्का छैन । अहिले हामीले सिंगापुर एयरलाइन्ससँग काम गरिरहेका छौँ । सन् २०२५ मा कम्तीमा ५ हजार भियतनामी पर्यटक नेपाल ल्याउने हाम्रो लक्ष्य छ । त्यही अनुसार काम पनि गरिरहेका छौँ ।

दुई वर्षमा जम्मा एक हजार जना आएका छन्, अब एकै वर्षमा ५ हजार सम्भव छ र ?

होइन पहिलो चरणमा चिनाउन समय लाग्छ । जब एक पटक मानिसहरू घुम्न सुरु गर्छन्, त्यसपछि माउथ टु माउथ मार्केटिङले धेरै फरक पार्छ । अहिले नेपालीहरूको गन्तव्य स्थान भनेको थाइल्यान्ड नै हो, कोही कोही मात्रै दुबई जान्छन् । दुबई पनि अहिले धेरै महँगो भएको छ । त्यस कारण बिस्तारै भियतनाम नेपालीहरूको रोजाइको गन्तव्य बन्नेछ भन्ने मलाई विश्वास छ ।

थाइल्यान्ड, दुबईभन्दा भियतनाम सस्तो हुने कत्तिको सम्भावना छ ?

सिधा उडान हुने हो भने थाइल्यान्ड भन्दा पनि सस्तो हुन्छ । किनकि भियतनामको ट्याक्स, ग्राउन्ड ह्याडलिङ चार्ज, होटेल तथा भिसा पनि सस्तो छ । हामीलाई अन अराइभल भिसा लिने पनि सुविधा छ । भिसाको लागि मात्रै २५ डलर लाग्छ । थाइल्यान्डको हकमा भिएफएसमा समय लिउ, लाइन बस आदि गर्ने झन्झट छ, भियतनाममा त्यो छैन ।

तपाईँ म्याग्दीमा जन्मिएर युरोप पुग्नुभएको मान्छे, तपाईँकै बारेमा पनि थोरै बताइदिनुस् न ।
म्याग्दीबाट हामी नवलपुरको गैँडाकोटमा बसाइँ सरेपछि पढ्नको लागि म साइप्रस गएँ । साइप्रसमा करिब एक वर्ष पढेपछि क्रेडिट ट्रान्सफर गरेर त्यहाँबाट म स्पेन गएँ । स्पेन गएपछि त्यहाँ ६ वर्ष बसेँ । रोजगारी तथा कलेजको इन्टर्नसिपको लागि मैले युरोपका धेरै ठाउँमा बिताएँ, जस्तै ग्रिसको एथेन्स, इजिप्टको कायोरो, स्पेनको मालोर्का आदि स्थानमा बसेँ । मैले त्यहाँ मार्केटिङ र पर्यटन विषयमा अध्ययन गरेँ ।

मान्छे यताबाट युरोप जान्छन्, तपाई चाहिँ युरोप छोडेर नेपाल किन आउनुभयो ?
नेपालमा नै धेरै सम्भावना छ भन्ने लागेको हो, अर्को चाहना पनि हो । घरको एक्लो छोरा बाहिर बस्नु खासै उपयुक्त पनि लागेन । हामी एकदमै गरिब परिवारबाट आएका हौँ । हामीले त्यो दुख देखिसकेको भएर यहाँ आएर केही गर्न सकिन्छ भन्ने पनि लाग्यो ।
सुरुमा नेपालमा आएर बिजनेस गर्छु भन्ने सोच थिएन । सुरुमा अरिहन्त होलिडेजमा लगभग ३ वर्ष काम गरेँ त्यसपछि कान्तिपुर होलिडेजमा पनि काम गरेँ । बिस्तारै यो क्षेत्रमा आफैँले केही गर्नुपर्छ भन्ने लागेपछि हामीले कोभिड लाग्नुभन्दा थोरै अगाडि मात्रै रुप्से होलिडेज खोलेका हौँ ।

नेपाल फर्कँदा यही क्षेत्रमा काम गर्छु भन्ने लागेको थियो ?
काम गर्छु भन्दा पनि यो क्षेत्रमा हुँदा घुम्न पाइन्छ भन्ने लागेको थियो । किनभने मलाई ट्राभल गर्न मन पर्ने भएकाले यो क्षेत्रमा रुचि थियो ।

तपाईँ म्याग्दीबाट बसाई सरेर नवलपुर गइसक्नुभएको थियो, ट्राभलको नामचाहिँ किन रुप्से नै राख्नुभयो ?
किनभने रुप्से नेपालकै प्रख्यात झरना पनि हो । सबैतिर हेरेँ रुप्से नामबाट पर्यटनमा खासै केही रहेनछ । र, म्याग्दीलाई चिनाउने म्याग्दी कै मान्छे रहेछ भन्ने चिनारी पनि हुन्छ भन्ने लागेकाले रुप्से राखिएको हो ।

भियतनामका लागि एउटा चार्टर उडान गर्दा दुईतर्फीको शुल्क कति पर्ने रहेछ ?
सबै खर्च जोड्दा लगभग एक करोड जति पर्छ ।

सिधा उडान नभएको कारणले चार्टर गर्न बाध्य भएको हो ? सिधा उडानभन्दा चार्टर महङ्गो हुन्छ ?
सिधा उडान भन्दा चार्टर उडान करिब २५ प्रतिशतले महङ्गो पर्छ । ट्याक्स, ओभर फ्लाइट चार्जहरू सबै महङ्गो हुन्छ । किनभने चार्टर भनेपछि आफ्नो स्टेसन हुँदैन, तेस्रो पार्टीसँग काम गर्नुपर्छ । त्यसले गर्दा महङ्गो पर्छ ।

यदि सिधा उडान हुने हो भने दुईतर्फीको भाडा कति जति पर्न सक्छ ?
हामीले भियतजेटसँग कुरा गरेका थियौँ, अहिलेको अवस्थामा उनीहरूले नेपाली ३५ देखि ४० हजारमा दुईतर्फी उडान गर्न सकिन्छ भनेका थिए ।

हवाई भाडा दुईतर्फी ४० हजारसम्म भएमा प्रतिव्यक्ति ६० देखि ६५ हजारमा ४ रात ५ दिनको टुर प्याकेज गर्न सकिन्छ …..

यदि दुईतर्फी उडानको खर्च नै ३५–४० हजारमा भयो भने हामीले ४ रात ५ दिनको टुर कतिमा गर्न सक्छौँ ?
सिधा उडान भएर हवाई भाडा दुईतर्फी ४० हजारसम्म भएमा प्रतिव्यक्ति ६० देखि ६५ हजारमा ४ रात ५ दिनको टुर प्याकेज गर्न सकिन्छ ।

अहिलेचाहिँ तपाईँले कतिमा बेचिरहनु भएको छ ?
अहिले होटेलको स्तर हेरि ८० देखि ८५ हजारमा बेचिरहेका छौँ । यदि सिधा उडान हुने हो र विमान कम्पनीहरूले काठमाडौं भियतनामका लागि ५० प्रतिशत र त्यहाँबाट कनेक्टिङ फ्लाइटका लागि औसतमा ५० प्रतिशत टिकट छुट्टाउन सक्ने हो भने भियतनाम टुर धेरै सस्तो बन्न सक्छ ।

अनि चार्टरमै उडाउने यति ठुलो रिस्क कसरी लिनुभयो त ?
रिस्क थियो, रिस्क नै नहुने बिजनेस हुँदैन । एक महिना जति अध्ययन गरेपछि म मा कन्फिडेन्ड आयो कि नेपालीहरूलाई एक पटक लैजान सकियो भने भियतनाम जाने कल्चर बन्छ र भियतनामीलाई नेपाल ल्याउन सकियो भने फेरि नेपाल आउँछन् भन्ने । अहिले हामीले भियतनाम सुरु गरेपछि नेपालका धेरैजसो ट्राभल एजेन्सीले भियतनामको टुर प्याकेज बेच्न थालेका छन्, यो खुसीको कुरा हो । यही दसैँको समयमा पनि ६–७ सय जति नेपाली भियतनाम गए जस्तो लाग्छ । उताबाट पनि आउन सुरु गरेका छन् ।

काठमाडौं–हानोई–जापानको एकतर्फी भाडा ४५ हजार र दुईतर्फी भाडा अधिकतम ९० हजार रुपैयाँ हुन सक्छ ……..

सिधा उडान भए जापान जान पनि सस्तो पर्ने रहेछ होइन ?
भियतनाममा सिधा उडान भएमा जापानको भाडा धेरै सस्तो हुन जान्छ । अहिले जापान जान जति भाडा लाग्छ, भियतनाममा सिधा उडान भएमा त्यहाँबाट कनेक्टिङ फ्लाइटमा जाने हो भने पनि करिब ३० प्रतिशतले सस्तो पर्न जान्छ ।
अहिलेकै अवस्थामा सिधा उडान हुँदा काठमाडौं–हानोई–जापानको एकतर्फी भाडा ४५ हजार रुपैयाँभन्दा महङ्गो पर्दैन । दुईतर्फी हो भने अधिकतम ९० हजार रुपैयाँ हुन सक्छ । यसले जापानी पर्यटकलाई पनि नेपाल ल्याउन थप सहज हुन्छ र उनीहरू नेपाल आउने क्रम बढ्न सक्छ । अहिले जापानको दुईतर्फी भाडा लगभग एक लाख ७० हजार रुपैयाँ छ । यदि भियतनाममा सिधा उडान हुने हो भने त्यो भाडामा ४० प्रतिशतसम्मले कमी आउन सक्छ ।

नेपालमा लाग्ने ट्याक्स र टिकटमा लागेको भ्याटले पर्यटनमा कत्तिको असर पारेको छ ?
युरोपियन मार्केटबाट नेपाली पर्यटक नेपाल ल्याउन तथा यताबाट उता पठाउन हामी जर्मनीको एउटा कम्पनीसँग कुरा गर्न गएका थियौँ । त्यो ट्राभल्स एजेन्सीले एसियन मुलुकका लागि ठुलो सङ्ख्यामा पर्यटक पठाउँछ । युरोपियनहरू सामान्यतः ६–८ महिना अगाडि नै टुरको योजना बनाएर तयारी गर्छन् । तर युरोपबाट पछिल्लो समयमा नेपालमा खासै पर्यटक ल्याउन सकिएको छैन, यसको मुख्य कारण भनेकै हवाई भाडा हो । नेपालको हवाई भाडा अन्य सबै देशहरूको भन्दा महङ्गो छ र यसको कारण भनेको नेपालको कर, इन्धनको मूल्य मात्रै नभएर विमान कम्पनीहरूको सिन्डिकेट र कार्टेलिङ पनि हो । सीमित मात्रामा एयरलाइन्सहरू छन्, ५ जना कन्ट्री म्यानेजरहरू बस्छन् र भाडा बढाउने निर्णय गर्छन् । त्यो चाहिँ हाम्रो नागरिक उड्डयन प्राधिकरणले नियमन गरेर जानुपर्छ । काठमाडौं–दिल्ली भनेको एक घण्टाको उडान हो, तर अहिले ४०–४५ हजार रुपैयाँ भाडा छ, जुन वास्तविक मूल्य होइन । किनभने एक घण्टाको उडानको शुल्क भनेको विश्वभर नै सामान्यतः एक सय अमेरिकी डलर हो जसको नेपाली रकम १३ हजार ५ सयको हाराहारीमा हुन्छ ।

काठमाडौंबाट भियतनाम भन्दा भियतनामबाट दिल्ली टाढा हो । दिल्लीमा काठमाडौँमा भन्दा करिब एक घण्टा बढी उडाउनुपर्छ । तर भियतनामबाट दिल्ली जाँदा ३५ हजार नेपाली रुपैयाँमा दुईतर्फी टिकट पाइन्छ भने भियतनामबाट काठमाडौँमा यात्रा गर्न करिब एक लाख रुपैयाँ पर्छ । यस्तो हुँदा पर्यटक किन नेपाल आउँछ ? समस्या भनेको नै हवाई टिकट महङ्गो हुनु हो । अर्को समस्या भनेको एयरलाइन्सको उपलब्धता पनि होला । किनभने हामीसँग सीमित मात्रामा एयरलाइन्स छन् । अर्को, विमान कम्पनीहरूले अनैतिक प्रयोग पनि छन्, जसका कारण नेपालको हवाई उडान धेरै महङ्गो छ ।चार्टर गरेर तपाईँले भियतनाम सुरु गर्नु भयो, अहिले सबैजसो ट्राभलले भियतनामको टुर प्याकेज बेच्दा तपाईँलाई कस्तो लाग्छ ?
हामी एकदमै खुसी छौँ । हामीले सुरु गरेको गन्तव्य हो । नेपालबाट भियतनामका लागि एग्रेसिभ व्यापार सुरु भयो । हामीले सुरु गरेको भएर हाम्रो मूल्य केही राम्रो वा सस्तो होला, सुविधाहरू पनि बढी होलान् । हामी आफैँ घुमेर सुविधाहरू हेरेर मात्र सुरु गरेका हौँ, कतिपय ट्राभल एजेन्सीहरू त त्यहाँ पुगेकै छैनन्, यत्तिकै विज्ञापन गरिरहेका छन् । डाहा गर्नुपर्ने केही छैन म खुसी छु, किनकि जब मार्केट विकास हुन्छ, बिजनेस त जसरी पनि बढ्छ, बढ्छ । यो वर्ष भियतनाम गर्‍यौँ, अर्को वर्ष अर्को कोसिस गरौँला भन्ने सोच पनि छ ।

भियतनामकै कारण रुप्सेलाई चिनाउन सकियो, ब्राण्डिङ गर्न सकियो भन्ने लाग्दैन ?
रुप्से होलिडेज धेरै ठाउँमा सक्रिय भइसकेको थियो । नेपाली क्रिकेट टिमसँग धेरै कार्यक्रममा जोडिएर ब्राण्डिङको काम गरिरहेका थियौँ । हालसालै महिला भलिबल टोलीसँग पनि जोडिएर काम गर्‍यौँ । महिला भलिबल लिगमा ललितपुर क्वीन्स टिम रुप्से ग्रुपकै रुप्से स्पोर्टसको स्वामित्वमा छ, त्यहाँ पनि हामीले ब्राण्डिङ गरिरहेका छौँ । त्यो बाहेक सोसल मिडियामा हाम्रो उपस्थिति राम्रो छ । मिडियाका साथीहरूले पनि सहयोग गरिरहनुभएको छ, हामी जोडिएका हरेक गतिविधिमा सञ्चारमाध्यमले सहयोगी भूमिका खेलिदिनुभएको छ । हाम्रो उद्देश्य चाहिँ नेपालमा एउटा ब्रान्ड निर्माण गर्ने छ । आउटबन्ड टुरमा चाहिँ एउटा ब्रान्डको विकास नगरेसम्म चल्न गाह्रो छ भन्ने हिसाबले ब्राण्डका लागि केही प्रयास गरेका हौँ । त्यो सँगसँगै इनबाउण्ड टुर पनि सुरु गरेका छौँ । सन् २०२५ मा हाम्रो फोकस इनबाउण्ड टुरिजममा बढी हुनेछ, जहाँ देशका नागरिकलाई देश चिनाउने र देश घुमाउने सपना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?