भैंसेपाटी ‘हनी ट्र्याप’ प्रकरणको अनुसन्धान अब सीआईबीले गर्ने

एसपी कमल थापाको पनि गिरोहसँग ‘नेक्सस’, पक्राउ पुर्जी जारीपछि इन्सपेक्टर शाही ‘फरार’

लोकपथ
112
Shares
निलम्बित इन्स्पेक्टर बिनु कुमारी शाही

काठमाडौं । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही जोडिएको ‘हनी ट्र्याप’ प्रकरणमा नेपाल प्रहरीका एसपी कमल थापा पनि जोडिएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ ।

एसपी थापामाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरी प्रधान कार्यालयले थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मेवारी दिएको हो । सीआईबीले मंगलबारदेखि नै यो विषयमा अनुसन्धान थालेको छ ।

सीआईबीका प्रमुख एआईजी दीपक थापाले यो प्रकरणको नेक्सस विभिन्न जिल्लासँग जोडिएकाले मंगलबारदेखि नै सीआईबीका तर्फबाट अनुसन्धान थालिएको बताए । ‘यो घटनामा पक्राउ परेका सबै जना र अनुसन्धानका अहिलेसम्मका फाइल पनि झिकाएर अनुसन्धान सुरु भएको छ, प्रहरी प्रधान कार्यालय र ललितपुर प्रहरीले बनाएको छानबिन समितिको निचोडलाई समेत आधार बनाएर अनुसन्धान हुनेछ,’ उनले भने ।

प्रहरी प्रधान कार्यालयले गरेको जाँचमा पनि केही नयाँ तथ्यहरु खुलेको र ती सबै विषयमाथि जाँच थालिएको ब्यूरोका अधिकृतहरुको भनाइ छ ।

इन्सपेक्टर शाही मुछिएको ‘हनी ट्र्याप प्रकरण’ मा एसपी थापा पनि मुछिएपछि उनलाई यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट अनुसन्धानका लागि भन्दै प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको थियो ।
युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको यो प्रकरणमा नाम जोडिएपछि प्रहरी प्रधान कार्यालयले एसपी थापालाई दसै बिदालगत्तै फिर्ता बोलाएको हो ।

प्रहरी प्रधान कार्यालयकै उजुरी तथा छानबिन शाखाले एसपी थापामाथि छानबिन गरेको थियो । उजुरी छानबिन शाखाको प्रमुखमा एसएसपी गणेश चन्द र एसपी प्रकाश मल्ल छन् । सो शाखाले आफ्नो फाइल सीआईबीलाई बुझाएको हो ।

यस्तै, घटनाबारे छानबिन गर्न जिल्ला प्रहरी परिसर ललितपुरले प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरेको थियो । डीएसपी अधिकारी नेतृत्वको समितिले एसपी कमल थापामाथि पनि अनुसन्धान गर्न सुझाव दिएको थियो ।

हनी ट्र्याप प्रकरणका मुख्य योजनाकार ताज स्लाम र एसपी थापाबीच असोज ७ गते एक पटक फोनमा कुराकानी भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ दिन सहमत गराएको र २० लाख रुपैयाँ बुझेको दिन एसपी थापा र ताज स्लामबीच भेटघाट भएको सीसीटीभी फुटेज समेत समितिले फेला पारेको थियो । उनीहरुबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको एक रेस्टुरेन्टमा असोज ७ गते साँझ साढे ६ बजे भेट भएको थियो । त्यहाँ उनीहरुबीच करिब आधा घण्टा भेटघाट भएको फुटेजसमेत समितिले प्राप्त गरेको थियो ।

सुनसरीको एसपी हुँदादेखि नै थापासँग ताज स्लामको सम्बन्ध राम्रो थियो । त्यस्तै, एसपी थापा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुख भएका बेला प्रहरी निरीक्षक शाही पनि कञ्चनपुरमै कार्यरत थिइन् । त्यसैले पनि एसपी थापा मार्फत् नै ‘विश्वासिलो’ ठाउँको खोजी गर्दै ताज स्लामको समूह शाही नेतृत्वको भैंसेपाटी प्रहरी प्रभाग पुगेको थियो ।

प्रहरी निरीक्षक शाही कार्यरत भैंसेपाटी प्रहरी प्रभागमा उजुरी हाल्नुअघि फोन सम्पर्क हुनु र काम भइसकेपछि पनि रेष्टुरेन्टमा आधा घण्टासम्म कुराकानी हुनु शंकास्पद रहेको पनि समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।

ताज स्लाम र एसपी थापाबीच यसअघि पनि सम्पर्क हुने गरेको र एसपीमार्फत नै सुनसरीको यो घटना भैंसेपाटीमा उजुरी दिएर रकम असुल्ने योजनाअनुसार काम भएको समितिको निष्कर्ष छ । सोही चिनजानमा एसपी थापाको सिफारिसमा उनीहरु भैंसेपाटी पुगेको प्रहरीको भनाइ छ ।

सो समितिले प्रहरी निरीक्षक शाहीलाई निलम्बन गर्न सिफारिस गरेपछि शाही निलम्बनमा परिसकेकी छन् । निलम्बनपछि पक्राउ पुर्जी जारी भएपछि प्रहरी निरीक्षक शाही ‘फरार’ छिन् । यद्यपि, उनको खोजी भइरहेको ‘रेडिमेट’ जवाफ प्रहरीले दिँदै आएको छ ।

ललितपुरका एसएसपी शेखर खनाल इन्सपेक्टर शाहीको खोजी भइरहेको बताउँछन् । ‘फेला पर्नासाथ नियन्त्रणमा लिएर कारबाही अघि बढाउँछौं,’ उनले भने ।

पक्राउ परेका चारै जनाले पनि यसअघि इन्सपेक्टर शाहीसँग चिनजान नभएको बताएका छन् । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको आरोपमा अहिले चार जना प्रहरी हिरासतमा छन् । ९ असोजमा पक्राउ परेका प्रहरी प्रभाग भैंसेपाटीका सहायक हवल्दार महेन्द्र हमाल, सुनसरी इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापामाथि आपराधिक लाभ र संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हिरासतमा रहेका ताज र फरार दर्शनले यस्तै प्रकृतिका घटनामा युवतीलाई बलात्कारको उजुरी दिन लगाएर मोटो रकम असुल्दै आएको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् । ती व्यवसायीसँगको सम्बन्धबारे थाहा पाएपछि उनीहरुले सुष्मालाई प्रयोग गरेर रकम असुल गरेको प्रहरीको निष्कर्ष छ ।

हिरासतमै रहेकी सुष्मा विक हनी ट्र्यापमा व्यवसायीलाई फसाउन प्रयोग भएकी युवती र ताज स्लाम हनी ट्र्यापको मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ । उनकै योजनामा बलात्कारमा फसाइदिने भन्दै एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुलिएको आरोप छ । व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी कार्यालयभित्रै इन्सपेक्टर शाहीकै रोहबरमा ६० लाख रुपैयाँ माग भएको थियो । पछि ३० लाख रुपैयाँ दिने सहमति भएपछि कुरा मिलेको थियो । जसअनुसार १३ लाख र ७ लाख रुपैयाँ गरेर दुई पटकमा भीमाकुमारीको खातामा २० लाख रुपैयाँ रकम जम्मा भएको थियो ।

यसरी असुल गरिएको रकम भीमादेवीको खातामा जम्मा गरिएको प्रहरीको भनाइ छ । यो घटनामा पक्राउ पुर्जी जारी भएका प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन इन्सपेक्टर शाही र इटहरीका दर्शन पोखरेल भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?