रुपन्देहीमा अवैध चिनी बरामद गर्न गएको सशस्त्र र राजस्व टोलीमाथि आक्रमण, तीन सुरक्षाकर्मी घाइते

लोकपथ
161
Shares

काठमाडौं । रुपन्देहीमा अवैध चिनी बरामद गरेर फर्किरहेको सशस्त्र प्रहरी र राजश्व अनुसन्धान टोलीमाथि एक समूहले आक्रमण गरेको छ । आक्रमणबाट केही सुरक्षाकर्मी सामान्य घाइते भएका छन् ।


सीमावर्ती क्षेत्र लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा राजस्व र सशस्त्र प्रहरीको टोलीमाथि आक्रमण भएको थियो । तस्करहरुको समूहले चिनी लुटपाट गर्ने उद्देश्यले ढुंगामुढा गरेको बताइएको छ ।


मुजहनामा अवैध रुपमा नेपाल भित्र्याएर चिनी भण्डार गरी राखेको सूचना पाएपछि खटिएको टोलीले मुजहनाका ३२ वर्षीय दिलिप लोधको घरमा खानतलासी गरी ११२ बोरा चिनी नियन्त्रणमा लिएको थियो । यसका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलका अनुसन्धान अधिकृत राजबहादुर विष्टको नेतृत्वमा ४ जना र सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगरको नेतृत्वमा १० जनाको टोली खटिएको थियो ।


बरामद चिनी लिएर फर्किने क्रममा बिहीबार बेलुका करिब ६ बजे एक सय जनाभन्दा बढीले बाटो अवरोध गरेर ढुंगामुढा गरेको बताइएको छ । त्यसपछि सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापामगरको नेतृत्वमा परिचालन भएको ७० जनाको थप टोली र इलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले बाटो अवरोध गर्ने समूहलाई तितरबितर पार्दै बरामद चिनीसहित सवारी साधनहरु राजस्व अनुसन्धान कार्यालय बुटवल ल्याएको थियो ।


ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराती, सशस्त्र प्रहरी नायब निरीक्षक काशीप्रसाद चौधरी र सशस्त्र प्रहरी जवान चन्द्रमा पाण्डेलगायतको हातमा चोट लागेको सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गणका सूचना अधिकारी डिएसपी दुर्गा थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?