गुणस्तरहीन सञ्चारमाध्यमका कारण मोबाइल बन्द गरेँ : दिपक मनाङे

लोकपथ
490
Shares

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दिपक मनाङे) ले सञ्चारमाध्यमबाट तारन्तार कल आएपछि मोबाइल बन्द गरेका छन् ।

सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङेलाई दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको छ ।

त्यससँगै आफूमाथि निरन्तर विभिन्न सञ्चारमाध्यमबाट फोनहरु आएपछि चलाइरहेको मोबाइल बन्द गरेर बसेको बताए । उनले ‘केही गुणस्तरहिन सञ्चारमाध्यम’ भन्दै सञ्चारमाध्यमसँग समेत खनिएका छन् ।

गम्भीर अपराधमा दोषी देखिए पनि उनले प्रदेश सभाको लेटरहेड समेत प्रयोग गर्दै भनेका छन्, ‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहिन सञ्चारमाध्यमहरुबाट तारन्तार आइरहेको कलहरुले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु । यही विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको छ । यसमा मेरो आपत्ति छ ।’

फैसलापछि आफूले आफ्ना कानुन व्यवसायीहरुलाई त्यसको पूर्णपाठ सार्न पठाए पनि त्यो तयार भइनसकेको जानकारी पाएको बताए । साथै फैसलाको पूर्णपाठ आएपछि आफू स्वंय अदालतमा उपस्थित हुने समेत बताएका छन् ।

‘अन्तमा : सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?