पाठ्यपुस्तकमा रहेका त्रुटि सच्याउन महानिर्देशक श्रेष्ठलाई गराइयो ध्यानाकर्षण

लोकपथ
49
Shares

काठमाडौं । विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटिहरू आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी सच्याउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।

विद्यालय तहमा अध्ययनरत करिब ५६ लाख ७६ हजार २ सय  ९२ बढी विद्यार्थीलाई पाठ्यपुस्तक मार्फत गलत पुस्तक पढाउन बाध्य पार्ने पाठ्यक्रम विकास केन्द्र, महानिर्देशकसंग अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका इन्चार्ज धर्मराज तिमल्सिनाको नेतृत्वमा तत्काल पाठ्यपुस्तकमा रहेका गल्ती सच्याउन ध्यानाकर्षण गराएको छ ।

‘पाठ्यक्रम विकास केन्द्रले ७७ वटै जिल्लामा रहेका करिब ३५ हजार ६७४ भन्दा बढी विद्यालयमा गलत शिक्षा पढ्न बाध्य पारेर, राज्यको लगानी माथि गम्भीर घात गरेको, अभिभावकका सपना कुल्चिने दुस्प्रयास गरेको छ । विद्यार्थीको भविष्यसँग, विवेकसँग, जवानीसँग, समय र श्रमसँग खेलबाड गरेको छ । राज्य कोष दुरुपयोग गरेको छ । यसमा संलग्न जिम्मेवार, विषय समितिहरू, व्यक्तिहरू तथा संयन्त्रहरूको यो गैरजिम्मेवारीपन अक्षम्य रहेको छ । तत्काल पाठ्यपुस्तकमा भए, गरेका कमी कमजोरी सच्याउन छानबिन गरी, २०८२ मा प्रकाशित हुने पाठ्यपुस्तकमा सच्याएर मात्रै प्रकाशित र वितरण गरिनुपर्छ। पाठ्यक्रम विकास केन्द्रको यस प्रकारको लापरबाहीले, यहाँका समितिको लापरबाहीले सरकारी डकुमेन्ट प्रतिको विश्वास टुटेको छ । ’ध्यानाकर्षण पत्रमा भनिएको छ ।

साथै वि.सं. २०७८ कार्तिक–मंसिर महिनामा सम्पन्न राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा २०७९ चैत्र १० गते नै राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेकोमा हालसम्म पनि कक्षा १० को पाठ्यपुस्तकमा राष्ट्रिय जनगणना २०६८ कै तथ्यांक राखिनु, राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा प्रकाशित भइसकेको जानकार नहुनु, नेपालको कुल जनसंख्या २,९१,६४,५७८ रहेको विषय यो पाठ्यक्रम विकास केन्द्र अनभिज्ञ रहनु दुखद भएको जनाएको छ ।

त्यसै गरी गलत पुस्तक पढ्नु पनि विषपान सरह हो, दिगोको अर्थ अरूलाई पिडा दिने वा असर पुर्‍याउने काम हैन ! यस प्रकारका थुप्रै त्रुटिहरू छन् । यस प्रकारका त्रुटिलाई तत्काल सच्याउन, त्रुटि देखेर पनि अन्देखा नगर्न र पाठ्यक्रम विकास केन्द्रसँग आम बालबालिकाको भविष्य जोडिएको हुँदा बालबालिकाको भविष्यसँग, राज्यको भविष्यसँग खेलबाड नगर्न जिम्मेवार, जवाफदेही बन्न पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?