जाडो मौसममा जोर्नी र घुँडा दुखाईबाट बच्न के गर्ने ?

लोकपथ
105
Shares

काठमाडौं । जाडो मौसम सुरु भइसकेको छ । जाडो मौसम सुरु भएसँगै यसले धेरैमा शारीरिक समस्याहरू पनि लिएर आउने गर्छ । यो मौसममा सामान्यतया रुघाखोकी, एलर्जी, औँला सुन्निने, शरीरमा पानीको कमी हुनुको साथै जोर्नी र घुँडा दुख्ने जस्ता समस्याहरू पनि बढ्ने गर्छ ।

विज्ञहरूका अनुसार जाडोमा घाम कम लाग्ने हुँदा मानव शरीरमा भिटामिन डीको स्तर पनि घट्न थाल्छ । जसका कारण शरीरका जोर्नी र हड्डी जस्ता धेरै अंग दुख्न थाल्छन् । यो मौसममा गठिया रोगबाट पीडित व्यक्तिहरूलाई अझ बढी पीडा हुने गर्छ । चिसो बढ्दै जाँदा जोर्नी दुख्ने समस्या पनि बढने गर्छ । यो मौसममा आहारविहारसँगै जीवनशैलीमा ध्यान दिने हो भने यस्ता समस्याबाट बच्न सकिन्छ ।

भिटामिन डीको कमी हुन नदिन के गर्ने ?

जाडो मौसममा भिटामिन डीको कमी भएमा शरीर कडा हुने जोर्नी दुख्ने समस्या बढ्न सक्छ । यस्तोमा सूर्यको किरण मानिसका लागि जीवनरक्षक बन्न सक्छ । दैनिक कम्तीमा आधा घण्टा घाममा बस्ने गर्दा फाइदा पुग्छ । भिटामिन डीयुक्त खाना खाने । जस्तोः भिटामिन डी बढाउनका लागि आफ्नो आहारमा कोदोको पीठोलाई समावेश गर्न सकिन्छ । यसमा भिटामिन डीको साथै क्याल्सियम र आइरन पनि प्रचुर मात्रामा पाइन्छ ।

नियमित योगा र व्यायाम गर्ने

चिसो मौसममा मानिसहरु प्रायः आफ्नो स्वास्थ्यप्रति लापरबाही गर्ने गर्छन् । कम शारीरिक परिश्रमका कारण शरीरमा रक्तसञ्चार ठीकसँग हुन सक्दैन यसले हड्डीमा कठोरता र पीडा बढ्न थाल्छ । त्यसैले शरीरलाई स्वस्थ्य फुर्तिलो राख्न दैनिक जीवनमा योग र व्यायाम गर्नुपर्छ । नियमित योग गर्नाले शरीर तन्दुरुस्त हुनुका साथै धेरै रोगहरूबाट पनि बच्न सकिन्छ। लामो समय एकै ठाउँमा बसीराख्नु हुँदैन । समयसमयमा हिडडुल गर्ने, कुर्सीमा बसेर काम गर्दा पनि कुर्सीमा गर्न सकिने कसरत गर्ने गर्नुपर्छ ।

आफूलाई न्यानो राख्ने

जाडो मौसममा हामीले आफूलाई न्यानो राख्नु पर्छ । शरीरलाई न्यानो बनाउनका लागि सही कपडाको छनोट गर्नुपर्छ । मनतातो पानीले नुहाउने, आफू बस्ने कोठामा हिटर वा ब्लोअरले न्यानो बनाइराख्ने जस्ता कुराहरूमा पनि ध्यान दिनुपर्छ । मांसपेशी कडा हुने, दुख्ने समस्या भएमा हट वाटर व्यागले सेकाउन पनि सकिन्छ ।

पौष्टिक आहारको सेवन गर्ने

जाडो मौसममा आफूलाई ऊर्जाले भरिपूर्ण राख्न र हड्डी, जोर्नी दुखाईबाट बच्न पौष्टिक आहारको सेवन गर्नुपर्छ । मांसपेशी कडा हुने, जोर्नी दुख्ने समस्याबाट बच्नका लागि ओमेगा ३ फ्याटी एसिडयुक्त खानाहरु हरियो सागसब्जी, मौसमी फलफूल र सुख्खा फलफूल आदिको सेवन गर्नुपर्छ । यसका साथै तिलको तेलले हड्डी बलियो बनाउने हुनाले हामीले खाना बनाउँदा यस तेलको प्रयोग पनि गर्न सकिन्छ ।

शरीरमा तेलले मालिस गर्ने

चिसोका कारण शरीरका नसाहरू खुम्चिने हुँदा तेलले मालिस गर्दा शरीरमा स्फूर्ती बढ्छ । मनतातो तेलले मालिस गर्दा रक्तसञ्चारमा सुधार हुने र यसले मांसपेशीलाई कडा हुनबाट पनि बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?