काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ । भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्नस्थापनाबारे सहकार्य गर्न चेम्बर र जापानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी, युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा विपद् व्यवस्थापन पूर्व तयारीका लागि सहकार्य सुरु भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका लागि जापानको प्राविधिक सहयोग, एवं जनचेतनाका लागि सहकार्य गर्ने विषयमा सहमति भएको छ ।
जोखिम पूर्वतयारी, तथा समग्र विपद् व्यवस्थापनका विषयमा स्थानीय स्तरमा नागरिकको प्रत्यक्ष सहभागिता हुने गरी कार्यक्रमहरु सञ्चालन गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिएका छन् ।
प्राकृतिक प्रकोपबाट नागरिकले कष्ट पाइरहेको अवस्थामा जापानी संस्थासँगको सहकार्यमा विपद् व्यवस्थापन कार्यका लागि चेम्बरले पहल गरेको अध्यक्ष अग्रवालले बताए ।
चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले वास्तविक तथ्यांकको अभावमा पनि उद्धार राहत तथा पुर्नस्थापना कार्यमा प्रभावकारी परिणाम हासिल गर्न चुनौती रहेको बताए ।
जापानी निकायसँगको प्राविधिक सहकार्यमा वास्तविक लागत संकलन गर्न सकिने पनि उनको भनाई छ ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले विपद् व्यवस्थापनमा जापानी संस्थाहरुसँग चेम्बरले गर्ने सहकार्यलाई स्थानीय तहसम्म पुर्याइने बताए ।
सो कार्यक्रम चेम्बरले ५ वर्ष अघि नै सुरु गर्ने तयारी गरे पनि कोभिडका कारण प्रभावित भएको वरिष्ठ उपाध्यक्ष अग्रवालले बताए । जापानी संस्थासँगको प्राविधिक सहयोग एवं सहकार्यमा विपद् पूर्वतयारी एवं जनचेतनालाई प्रभावकारी बनाइने उनको भनाई छ ।
अर्वान रेजिलेन्स रिसर्च सेन्टरका प्राध्यापक डा. इकुटा एसुकेले विपद् व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यक्रममा बढी भन्दा बढी जनसहभागिता हुनुपर्नेमा जोड दिए ।
रेजिलेन्स रिसर्च सेन्टरमार्फत विपद् व्यवस्थापन प्रतिकार्य सम्बन्धी जनचेतना अभिवृद्धि एवं प्राविधिक सहयोगका लागि चेम्बरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया