काठमाडौं । देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका–४ खाप बस्ने ४२ वर्षीय राजु राईलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४२ मिलिग्रामसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
राईको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरी टोलीले उनकाे घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
साथै कैलालीको लम्कीचुहा नगरपालिका–१ तिल्केनी बस्ने २१ वर्षीय टंक बोहरा र २२ वर्षीय पदम न्यौपानेलाई अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय ७० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पदमको घरमा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
यसैगरी दार्चुलाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजारबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नौगाड गाउँपालिका–५ बस्ने १९ वर्षीय वीरेन्द्र सिंह धामी र सोही गाउँपालिका–४ बस्ने २२ वर्षीय लोकेन्द्र सिंह ठगुन्ना रहेका छन् । अस्थायी प्रहरी पोष्ट गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले बैतडीबाट गोकुलेश्वर दार्चुलातर्फ आउँदै गरेको ग.३ च ३३५१ नम्बरको बोलेरो जिपलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी जिपमा सवार वीरेन्द्र र जिपका चालक लोकेन्द्रलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया