सम्पूर्ण जिम्मेवारीबाट हटाउन माग गर्दै लीलाबल्लभले दिए निवेदन

लोकपथ
441
Shares

काठमाडौं । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा योजना मन्त्री लीलाबल्लभ अधिकारीले आफूलाई सम्पूर्ण जिम्मेवारीबाट हटाउन माग गर्दैै पार्टीमा निवेदन दिएका छन् ।

मानव तस्करहरुसँग मिलेर अवैध ढंगले जापान पुगेपछि विवादमा तानिएका सांसद अधिकारीले आज निवेदन दिएर आफूलाई सबै जिम्मेवारीबाट अलग गर्न माग गरेका हुन् ।

उनले नेकपा एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडालाई पत्र लेख्दै त्यस्तो आग्रह गरेका हुन् ।

‘म माथि उठेका सार्वजनिक टिकाटिप्पणी र आरोपको सत्य तथ्य छानबिनमा सहयोग पु¥याउने उद्देश्यले अनुसन्धान तथा छानबिनको अन्तिम टुङ्गो नलागेसम्म पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरी पाउँ,’ उनले भनेका छन् ।

त्यस्तै उनले आफूमाथि लागेको आरोपबारे छानबिनका लागि कुनै पनि अवरोध नहोस् भन्नका लागि राजीनामा दिएको र सबै जिम्मेवारीबाट हटाउन माग गरेको बताए ।

‘मैले पार्टी भित्रबाट मलाई अनुसन्धान गर्नको लागि कुनै हस्तक्षेप नहोस् र निष्पक्ष छानबिन होस् भनेर पार्टीलाई प्रतिनिधि परिषद् सदस्यको जिम्मेवारीबाट हटाउन निवेदन दिएको हुँ’, उनले भने, ‘संसदीय जिम्मेवारीको बारेमा मैले केही उल्लेख गरेको छैन ।’

मानव तस्करहरुसँग मिलेर गत कार्तिक १३ गते मन्त्रीका हैसियतमा अधिकारी जापान प्रस्थान गरेका थिए । हङकङ ट्रान्जिट हुँदै जापान पुगेका मन्त्रीलाई त्यहाको अध्यागमनले फिर्ता गरिदिएको थियो । उनीसँग गएका तीन जनालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढेको छ ।

चौतर्फी आलोचनापछि अधिकारीले मन्त्रीबाट समेत राजीनामा दिएका छन् । तर उनीमाथि कारबाही नभएको भन्दै एमाले र सत्तारुढ दलमाथि प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?