काठमाडौं । हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आफ्नो खेल पोशाक (जर्सी) सार्वजनिक गरेको छ । शुक्रबार हिल्टन होटेलमा एक कार्यक्रमका बिच कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गर्यो ।
जर्सीमा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने हिमाली भूभाग, रारा र से–फोक्सुन्डोको तालरूपी निलो रंग तथा कर्णालीमा पाइने याकको प्रतिक छ । मार्की खेलाडी सोमपाल कामी र ‘फेस अफ कर्णाली याक्स’ कलाकार स्वस्तिमा खड्काले नेपाल प्रिमियर लिग (एनपिएल)को लागि जर्सी प्रदर्शन गरेका हुन् ।
कार्यक्रममा पूर्व उप–प्रधानमन्त्री तथा खेलकुद मन्त्री पूर्णबहादुर खड्का, कर्णाली याक्सका मालिक झनक दत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, क्यान प्रवक्ता छुम्बी लामा, टिम प्रशिक्षक ज्ञानेन्द्र मल्लसँगै कर्णाली याक्समा आबद्ध खेलाडीको सहभागिता थियो । पूर्व मन्त्री खड्काले कर्णाली याक्सलाई प्रतियोगिताको लागि शुभकामना दिएका छन् ।
‘कर्णाली याक्सलाई प्रतियोगिता सफलताको लागि शुभकामना छ । कर्णालीबासीको तर्फबाट टोलीलाई जितको शुभकामना,’ खड्काले भने, ‘अहिले नेपाली क्रिकेटको भविष्य उज्ज्वल छ । कर्णालीको हिमालीभाग, धार्मिक स्थल, कर्णालीसँगै जोडिएको भूभाग कैलाश मानसरोवर भ्रमण गर्न जो कोहीलाई कर्णाली याक्समार्फत हौसला प्राप्त हुने विश्वास छ ।’
पूर्व मन्त्री खड्काले क्यानमा पारस खड्का आएसँगै क्यानले सरकार र व्यावसायिकलाई मिलाएर क्रिकेटलाई राम्रो गराउन लाग्नु सकारात्मक सन्देश रहेको जनाए । प्रतियोगिताको लागि कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यादवलाई समावेश गरेको छ ।
त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् । विदेशी तीन खेलाडी पनि अनुबन्ध गरिसकेको छ । कर्णाली याक्सले वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तला त र हङकङका बाबर हायतलाई अनुबन्ध गरेको छ । प्रतियोगिताकै लागि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटेल हिल्टनसँग सम्झौता गरिसकेको छ ।
सचिव पारस खड्काले कर्णाली याक्सलाई समर्थन गर्न समर्थक जर्सी धारण गरेर टियु मैदान आउने आशा गर्दै काठमाडौं नै कर्णालीमय भएको बताए । ‘कर्णालीका सबै समर्थकले यो जर्सी लगाएर खेल हेरेको हेर्ने सपना छ । एनपिएन खेल मात्रै नभएर संस्कार हो,’ उनले भने, ‘कर्णाली याक्सको जर्सी निकै गज्जबको छ । जर्सी लगाएर कर्णालीकै समर्थन गर्नु होला । आधा काठमाडौं अहिले नै कर्णालीमय भईसकेको छ ।’
कर्णाली याक्सका मार्की खेलाडी सोमपाल कामीले एनपिएलमा टिमले सोचेको जस्तो प्रदर्शन दिने बताए । ‘आजको दिन एकदम उत्साहित छु । यही दिनको लागि क्रिकेट सुरु गरेका थियौंं, ’ सोमपालले भने, ‘कर्णाली याक्समा ज्ञानेन्द्र दाई सँगै सहकर्मी देव खनाल र गुल्शन झा पाएका छौँ । टिमले सोचेको जस्तो राम्रो प्रदर्शन गर्छौ ।’ प्रतियोगिता १५ मंसिरदेखि ६ पुससम्म हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया