गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई व्यवस्थित गराउनेतर्फ सरकार लागेको बताएका छन् ।
पोखरा महानगरपालिका–१७ सीतापाइलास्थित पोखरा वृद्धाश्रममा स्थापित पोखरा जेरियाट्रिक स्वास्थ्य कक्षको आज उद्घाटन गर्दै उनले स्वास्थ्य बीमाका लागि स्रोत सुनिश्चित गरी यसलाई व्यवस्थित र प्रभावकारी बनाउने योजनामा सरकार रहेको बताए ।
स्वास्थ्य बीमाबाट प्राप्त गर्ने सेवालाई गुणस्तरीयका साथै सहज बनाउनु आवश्यक भएको बताउँदै उनले स्रोतको सुनिश्चिताका लागि आम्दानीका आधारमा बीमा कोषमा योगदान जस्ता विषयलाई अघि बढाउनुपर्ने बताए ।
स्रोतको सुनिश्चितताका विभिन्न वैज्ञानिक आधारसमेत प्रस्तुत गर्दै आफूले बीमाको रकम पाँच लाख पुर्याउनुपर्ने विषयलाई प्रस्ताव गरेको मन्त्री पौडेलले बताए । देशको बजेटको चार प्रतिशत रकम मात्रै स्वास्थ्य क्षेत्रमा लगानी भएको बताउँदै उनले राज्यले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्दै उक्त रकम १० प्रतिशतको हाराहारीमा पुर्याउनु आवश्यक भएको बताए ।
आफू आमसर्वसाधारणले प्राप्त गरेका सुविधालाई कटाउने पक्षमा नभई त्यसलाई सुरक्षित कसरी गराउनेतर्फ लागेको उनले स्पष्ट पारे । सरकारले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार, जलन रोगको निःशुल्क उपचार जस्ता विषयलाई अघि सारेको जनाउँदै उनले आम सर्वसाधारणको स्वास्थ्योपचार सेवालाई प्रभावकारी बनाउने कुरामा सरकार निरन्तर लागिरहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया