काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालले सहरीकरणमा भोगिरहेको समस्या समाधानका लागि विश्व समुदायको ध्यानाकर्षण गराउन इजिप्ट भ्रमण सफल भएको बताएका छन् ।
इजिप्टको कायरोमा सम्पन्न ‘वर्ल्ड अर्बान फोरम’मा सहभागी भएर स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमण उपलब्धिमूलक भएको दाबी समेत गरे ।
उनले भने, ‘सहरी विकासका क्षेत्रमा भइरहेको काममा नेपालसँग सहकार्य गरिरहेका अन्तर्राष्ट्रिय समुदायसँग सम्बन्ध प्रगाढ रहेको छ । आगामी दिनमा सहरीकरणका काम प्रविधियुक्त र थप प्रभावकारी रूपमा अघि बढ्ने छ । ’उपप्रधानमन्त्री सिंहले कायरोमा सम्पन्न फोरममा नेपालले सहरीकरणका क्षेत्रमा हासिल गरेको प्रगति र भोगिरहेको समस्याबारे विश्वकै ध्यानाकर्षण गराउन सफल भएको बताए ।
‘जलवायु परिवर्तनले गर्दा सहरमा अतिवृष्टि हुने, बाढी आउने, हिमालमा हिम पहिरो आउँदा विपद्का घटना हुने गरेको छ । तर, नेपाल यस्तो देश हो विश्वमा, जसले प्रदूषण कम गर्छ तर जलवायु परिवर्तनको असर भने धेरै खेप्नु परिरहेको छ । यसले गर्दा ग्रिन फाइनान्सिङको कुरामा संयुक्त राष्ट्रसंघसँग कुरा गरेर नेपाललाई सहयोग पुर्याउनुपर्नेमा जोड दिनुपर्छ भन्ने कुरालाई मैले उठाएको छु, ’उपप्रधानमन्त्री सिंहले भने, ‘आउँदा दिनमा हामीले गरेको प्रयासको लाभ देखिन्छ ।’ तथ्य र तथ्याङ्कमा आधारित योजनामा युएनको निरन्तर सहयोगको प्रतिबद्धता रहेको जनाउँदै उनले दिगो सहरीकरणका लागि बलियो सहकार्य गर्न संयुक्त राष्ट्रको समर्थन नेपालका लागि सकारात्मक रहेको उपप्रधानमन्त्री सिंहको भनाइ थियो । वर्ल्ड अर्बान फोरममा नेपालले आफ्ना विषय विश्व मञ्चमा जोडदार रूपमा उठाएको र भ्रमण फलदायी भएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया