काठमाडौं । नेकपा एमालेले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सिफारिस उम्मेद्वारको नाम अनुमोदन गरेको छ ।
शनिबार बसेको एमाले सचिवालय बैठकले एमालेको तर्फबाट सिफारिस भई आएको उम्मेदवारको नाम पनि अनुमोदन गरेको र सिङ्गो पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति परिचालन हुन आह्वान गर्ने पनि निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले भने, ‘उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट सिफारिस भई आएका,प्रदेश कमिटीले निर्णय गरी पठाएका उम्मेद्वारको नाम अनुमोदन गर्ने काम गरेको छ र सिङ्गो पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ ।’
त्यस्तै, उनले एमाले र कांग्रेसले बनाइएको दुई दलीय राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको दाबी गरे ।दुई दलबीच निरन्तर संवाद सहकार्य भइरहने वातावरण निर्माणका लागि वृहत् उद्देश्यकासाथ संयन्त्र बनाइएको उनको भनाई छ ।
उनले भने, ‘पहिलो कुरा राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमण सफल पार्नका लागि बनाइएको होइन । दुई दलले सरकारको नीतिगत प्राथमिकता र संकल्प भनेर एउटा दस्ताबेज तयार गरेका थियौँ, जसमा म पनि थिए । सरकारले त्यसलाई आत्मसाथ गरेको छ त्यसको कार्यान्वयनलाई सहजीकरण गर्ने र दुई दलबीच निरन्तर संवाद सहकार्य भइरहने वातावरणका निर्माणका लागि वृहत् उद्देश्यकासाथ संयन्त्र बनेको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया