स्थानीय तहमै सरकार भेटिएको महसुस हुनेगरी काम गर्ने शेर्पाको प्रतिबद्धता

लोकपथ
574
Shares

काठमाडौं । नेकपा एमालेको तर्फबाट दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवार बनेकी उमा शेर्पा मगरले स्थानीय तहमै सरकार भेटिएको महसुस हुने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले उनलाई नेकपा एमालेको तर्फबाट उपाध्यक्षको उम्मेदवार बनाएको छ ।

उपाध्यक्षको उम्मेदवार बनेसँगै गाउँगाउँ पुगेर मत मागिरहेकी शेर्पाले आफू निर्वाचित भएपछि गाउँकै सेवाका लागि निरन्तर लाग्ने समेत बताइन् ।

जनताले सरोकारवाला व्यक्ति स्थानीय सरकारमा नभेट्दा दु:ख पाउने गरेको गुनासो गरिरहेका छन् । यस्तोमा आफु सँधै गाउँपालिका र वडाहरुमै रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

आफ्नै गाउँ मार्वुबाट मतदाता भेटघाट सुरु गरेकी उनी, जनताले देखाएको उत्साहपूर्ण सहभागिताले आफूमा थप उर्जा मिलेको बताउँछिन् । आफू यसअगाडि पनि विभिन्न संस्थाहरुमार्फत सामाजिक कार्यमा नै रहेकाले, जनतासँगको सामिप्यता महसुस हुने बताउँदै परिस्थितिले नयाँ भूमिकाको साथ जनताको सेवा गर्ने अवसर मिलेको बताइन् ।

स्नातक तहसम्म अध्ययन गरेकी शेर्पा कराँतेको खेलाडी हुन् । गौरीशंकर गाउँपालिका वडा नम्बर ७ निवासी शेर्पा व्यवसायसँगै विभिन्न सामाजिक संस्थाहरुमा आवद्ध रहेर काम गरिरहेकी छिन् ।

२०७२ सालको महाभूकम्प होस् या कोरोना महामारी तथा बाढी पीडिततहरुको सहयोगका लागि उनी सधैँ अग्रपंक्तिमा रहेर काम गरेको उनको दाबी छ ।

गत स्थानीय तह निर्वाचनमा गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए । उनको गत २०८० साल असार ३१ गते हृदयघातका कारण निधन भएसँगै त्यहाँ उपप्रमुखको निर्वाचन हुन लागेको हो ।

मंसिर १६ गते हुने उपनिर्वाचनका लागि उनीसहित विभिन्न दलहरुले उम्मेदवारलाई मैदानमा उतारेको छ ।

एमालेबाट शेर्पा, माओवादी केन्द्रबाट नीमलेकी शेपा, नेपाली कांग्रेसबाट पासदिकी शेर्पा, एकिकृत समाजवादीबाट रविना खड्का चुनावी मैदानमा उत्रिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?