मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारी : मन्त्रीबाट राजीनामा, पार्टीबाट निलम्बन र पक्राउसम्म

काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । उनकै निवासबाट आज आइतबार केहीबेरअघि पक्राउ गरिएका अधिकारीलाई काठमाडौं पठाउने तयारी भइरहेको कोशी प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) चन्द्रकुवेर खापुङले जानकारी दिए ।

उनलाई अहिले केहीबेरमा जहाजबाट काठमाडौं ल्याइँदैछ । मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि उनीमाथि अनुसन्धान सुरू नभएको भन्दै गृह प्रशासनको चर्काे आलोचना भइरहँदा उनी पक्राउ परेका हुन् । अधिकारीले राजीनामा दिनुपरेको ‘जापान काण्ड’मा उनीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट खुलिसकेको छ ।

जापानको टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) भएर काठमाडौं फर्किएका रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा, खोटाङका ३६ वर्षीय दावा शेर्पा र खोटाङकै जनक राईले प्रतिव्यक्ति १० लाख रुपैयाँ ‘गिरोह’लाई बुझाएको अनुसन्धानका क्रममा खुलेको हो ।

गत १४ कात्तिकमा कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीसहित उनीहरू तीन जनालाई टोकियोस्थित जापानको अध्यागमन कार्यालयले डिपोर्ट गरेको थियो । काठमाडौं विमानस्थलमा ओर्लिएलगत्तै तीनै जनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले लिखत किर्तेसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

प्रहरी स्रोतका अनुसार उनीहरूले प्रारम्भिक बयानमा जापानमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी भएर उतै बस्ने सर्तमा प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँ बुझाएको बताएका छन् । दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डेलाई सो रकम बुझाएको उनीहरुको भनाइ छ ।

प्रहरीका अनुसार, जापानबाट डिपोर्ट भएका देवकोटा र राईको साथबाट कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको ‘सहायक’को परिचयपत्र फेला परेको थियो । परिचयपत्रमा निमित्त कार्यालय प्रमुख भनेर तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारीको हस्ताक्षर रहेको छ ।

यस्तै, शेर्पाले खोटाङस्थित ऐंसेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्यको परिचयपत्र बनाएको पाइएको छ । जापान पठाउने गिरोहले नै उनीहरूका नाममा फर्जी कागजात बनाएको र उनीहरू उड्नुअघि विमानस्थलमा लगेर दिएको अनुसन्धानका क्रममा खुलिसकेको छ । गिरोहका सदस्यले काठमाडौं विमानस्थलमा कञ्चन देवकोटालाई तीनवटा परिचयपत्र दिएकामा उनले आफ्नो राखेर दावा शेर्पा र जनक राईको नामको परिचयपत्र दिएका थिए ।

प्रहरीका अनुसार जापान उडेका उनीहरूको ट्रान्जिट हङकङमा थियो । ट्रान्जिटमा उनीहरूले तत्कालीन मन्त्री अधिकारीलाई भेटेर ‘हामी पनि हजुरकै टोलीका हौं’ भनेको अनुसन्धानमा खुलेको छ । फर्जी कागजात लिएर उनीहरू आफ्नो भ्रमण टोलीमा आएको मन्त्री अधिकारीले हङकङ पुगेर मात्रै थाहा पाएको दाबी अनुसन्धानमा संलग्न अधिकृतहरूको रहेको छ । यद्यपि, कागजात तयार गर्ने र जापानमा लगेर छाड्ने योजनामा मन्त्री अधिकारीको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको थियो । अनुसन्धानकै क्रममा उनी पक्राउ परेका हुन् । गिरोहका सदस्यले जापान हिँडेका तीन जनाको मोबाइलमा मन्त्री अधिकारीको फोटो पठाएर ‘उहाँसँगै टोकियोमा आयोजित सांस्कृतिक कार्यक्रममा जानु’ भनेर म्यासेज गरेको भेटिएको थियो ।

हालसम्मको अनुसन्धानबाट महेश पाण्डेले फर्जी कागजात बनाएको खुलेको छ । सो गिरोहमा संलग्न दुई जना फरार छन् भने डिपोर्ट भएर आएका र पठाउने काममा संलग्न ६ जना प्रहरीको हिरासतमा छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार जापानबाट डिपोर्ट भएका तीन जनाको बयानका आधारमा जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे पक्राउ परेका थिए ।

जापानको अध्यागमनले उनीहरूबारे शंका लागेर फिर्ता (डिपोर्ट) गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् । घटना बाहिरिएपछि अधिकारीले राजीनामा दिएका छन् । उनलाई उनको पार्टी एमालेले पनि निलम्बन गरिसकेको छ । शनिबार एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अधिकारीमाथि लागेको आरोपको छानविन भएर टुंगो नलाग्दासम्म अधिकारीलाई पार्टीको संगठित सदस्यबाट निलम्बन गरेका हुन् ।

‘…मानव तस्करी जस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानविन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजानिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै माननीय श्री लिलावल्लव अधिकारीलाई उपरोक्त आरोपको अन्तिम निरुपण नभएसम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा नेकपा (एमाले) को संगठित सदस्यताबाट समेत निलम्बन गरिएको जानकारी गराइन्छ,’ खतिवडाले विज्ञप्तिमार्फत् भनेका छन् । आरोपको अन्तिम निरुपण नहुँदासम्म उनलाई पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा एमालेको संगठित सदस्यबाट समेत निलम्बन गरिएको छ ।

एमाले कोशी प्रदेशले उनीमाथि गरेको निलम्बन पार्टी सचिवालय बैठकले पनि अनुमोदन गरिसकेको छ । मानव तस्करीजस्तो गम्भीर अपराधमा जोडिएका अधिकारी कोशी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेको यसअघि नै खुलासा भइसकेको छ । जापानको अध्यागमनले मन्त्री अधिकारीसहित उनीसँगै गएका तीन जनालाई डिपोर्ट गरेपछि मात्रै यस प्रकरणको भेद खुलेको थियो ।

यसअघि अधिकारीले आफ्नोबारे टिप्पणी भएपछि नैतिकताका आधारमा राजीनामा दिएको बताएका थिए । ‘कसैले राजीनामा मागेर दिएको होइन, मेरोबारे टिप्पणी भएकाले नैतिकताका आधारमा राजीनामा दिएको हुँ,’ मन्त्री अधिकारीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘नैतिकताको खडेरी लागेका बेलामा मैले राजीनामा दिएको हुँ ।’

मुख्यमन्त्री कार्कीलाई राजीनामापत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै अधिकारीले भनेका थिए, ‘तीन जना परिचय गर्न आएपछि म झस्किएँ, हङकङबाट फर्कन खोजें तर ट्रान्जिट भएकाले मिलेन, टोकियो पुग्नैपर्ने भयो, कार्यक्रममा सहभागी हुन गइनँ, कार्यक्रममा गएको भए ती व्यक्ति उतै लुक्ने थिए त्यसैले नेपाल फर्किएर प्रहरीको जिम्मा लगाएँ ।’ हङकङ पुगेपछि दलालको समूहले आफूसँगै तीन जनालाई जापान पठाएको थाहा भएको अधिकारीले बताएका थिए । नक्कली कागजात बनाएर तीन जनालाई पठाएपछि जापान पुगे पनि कार्यक्रममा नपुगी विमानस्थलबाटै तीनै जनालाई लिएर नेपाल फर्किएको अधिकारीको दाबी थियो ।

तीन जना नक्कली सहभागीहरूलाई आफूले नचिनेको र मन्त्रालयको परिचयपत्रका बारेमा समेत थाहा नभएको अधिकारीको भनाइ थियो । यसबारे अहिले नेपाल प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ । अधिकारीले भनेका थिए, ‘घटनाको अनुसन्धानका लागि प्रहरी महानिरीक्षकलाई पनि जानकारी गराएको छु, अरू प्रहरी अधिकारीलाई पनि भनेको छु ।’
नक्कली कागजात बनाएर तीन जनालाई हङकङमा आफूसँगै पठाएको थाहा पाएपछि त्यहीँबाट नेपाल प्रहरीको विशेष ब्युरोेसँग समन्वय गरेर ती व्यक्तिलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएको उनको भनाइ थियो ।

अधिकारी प्रदेशसभाको अघिल्लो कार्यकालमा पनि विवादमा परेका थिए । कानुन व्यवसायीसमेत रहेका उनी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका चूडामणि उप्रेती (गोरे)को पक्षबाट बहस गर्न गएपछि तत्कालीन प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले उनलाई प्रदेशसभामा तीन महिना बोल्न दिएका थिएनन् ।

मन्त्री पदबाट राजीनामा दिएका अधिकारी अहिले पनि सांसद छन् । अधिकारी मोरङ २(ख)बाट लगातार दोस्रोपटक प्रदेशसभामा निर्वाचित भएका हुन् । उनी यसअघि भीम आचार्य मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री बनेका थिए ।

मोरङको सुनवर्षी नगरपालिका चप्रामारी स्थायी ठेगाना भएका ६० वर्षीय अधिकारीले जनता ल क्याम्पस विराटनगरबाट बीएल उत्तीर्ण गरेका छन् । उनी कानुन व्यवसायी पनि हुन् । अधिकारी विराटनगरमा मोडर्न ल चेम्बर नामको फर्मका सञ्चालक पनि हुन् । राजनीतिक नेताबाहेक उनी विभिन्न सामाजिक संघसंस्थामा पनि आबद्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?