काठमाडौं । सहकारी रकम अपचलन मुद्दामा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । उनलाई आज चौथो पटक म्याद थपका लागि जिल्ला अदालत पोखरा उपस्थित गराएर बयान लिइएको हो ।
थुनछेक बहसको आदेश केही समयमा आउने भएको छ । यसअघि थपिएको १० दिनको म्याद हिजो शनिबार सकिएसँगै कास्की प्रहरीले म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको हो । लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित रास्वपा कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो ।
जिल्ला अदालतले उनलाई पहिलो पटक ६ दिन, दोस्रो पटक सात र तेस्रो पटक १० दिनको म्याथ थप गरेको थियो । पछिल्लो पटक भने गत कात्तिक १५ गतेबाट लागू हुने गरी २० गते थपिएको थियो । त्यस दिन थपिएको म्याद सकिएसँगै आज अदालत उपस्थित गराइएको हो । लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको छ । उनीहरुविरुद्ध पनि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया