रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

लोकपथ
175
Shares

काठमाडौं । सहकारी ठगी, किर्ते र संगठित अपराध आरोपमा कास्की प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको आइतबारको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

उनलाई आज चौथो पटक म्याद थपका लागि जिल्ला अदालत पोखरा उपस्थित गराइएको थियो । यसअघि थपिएको १० दिनको म्याद हिजो शनिबार सकिएसँगै कास्की प्रहरीले म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो ।

लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित रास्वपा कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो । जिल्ला अदालतले उनलाई पहिलो पटक ६ दिन, दोस्रो पटक सात र तेस्रो पटक १० दिनको म्याथ थप गरेको थियो । पछिल्लो पटक भने गत कात्तिक १५ गतेबाट लागू हुने गरी २० गते थपिएको थियो । त्यस दिन थपिएको म्याद सकिएसँगै आज अदालत उपस्थित गराएको हो ।

लामिछानेसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि म्याद थपको लागि अदालत लगिएको थियो । उनीहरुविरुद्ध पनि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?