‘रवि लामिछाने ज्यूँदो रहँदासम्म रास्वपाको सभापति उहाँ नै हो, विकल्प छैन’

लोकपथ
196
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल) ले पार्टी नेतृत्वका लागि रवि लामिछानेको विकल्प नरहेको दाबी गरेका छन् ।

आइतबार रास्वपाले पोखरामा आयोजना गरेको विरोध प्रदर्शनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ज्यूँदो रहँदासम्म रास्वपाको सभापति रवि लामिछाने नै रहने बताए ।

सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेसँगै रास्वपाभित्र कार्यबाहकको लडाइँ चलिरहेको खबर बाहिरिएको थियो ।

यसैबीच अर्यालले रास्वपा समर्थकहरुलाई विश्वस्त पार्दै भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ज्यूँदो रहेसम्म सभापति रवि लामिछाने नै हो । यसमा कसले कार्यवाहक सभापति पाउँछ वा पाउँदैन त्यो गौण कुरा हो । त्यसैले म यहाँ रहनुहुने तपाईहरु र संसारभरी रहने नेपालीहरुलाई विश्वस्त पार्न चाहन्छु ।’
उनले विश्वका अन्य देशका नेताहरुको उदाहरण दिँदै रवि हिरासतमा होस् या दोषी भएर जेलमा गए पनि नेतृत्वमा नै रहने दाबी गरे ।

‘उहाँ जहाँ रहनुहोला, उहाँ हिरासतमा रहनुहोला तर राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने नै हो । र उहाँले नै यो पार्टीको नेतृत्व गर्नुहुनेछ । संसारमा यस्ता धेरै इतिहासहरु छन् जसले जेलमै बसेर पार्टी सञ्चालन गरेको, त्यतिमात्र होइन जेलबाट निस्किएको भोलिपल्ट प्रधानमन्त्रीको कुर्सीमा बसेको इतिहास साक्षी छन्,’ उनले भने ।

साथै उनले लामिछाने पक्राउ परेसँगै कार्यकर्तामा निराशा छाएकोतिर इंगित गर्दै निराश र हतास नहुन आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?