म्यागङमा सुन्तला टिप्न सुरु

लोकपथ
35
Shares

नुवाकोट । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् । सुन्तलाको मौसम सुरु भएसँगै बोटबाट प्रतिकिलो  एक सयभन्दा बढी मूल्य पाएपछि किसानले सुन्तला टिप्न सुरु गरेका हुन् । 

विगतका वर्षमा मङ्सिर लागेपछि मात्रै बजारमा पुग्ने सुन्तला अहिले ठूलो एकादशी (देवीघाट) र दुप्चेश्वर महादेव मन्दिर (शिखरवेसी) मा लाग्ने जात्रालाई लक्षित गर्दै टिप्न थालिएको म्यागङ–२ बुङ्ताङका किसान छेप्पोन तामाङले बताए । 

गत वर्ष प्रतिकिलो  ८० मा बिक्री भएको सुन्तला यस वर्ष ‘ग्रेडिङ’ नहुँदै एक सयभन्दा बढी पाइपछि बिक्री गर्न थालिएको तामाङको भनाइ छ  । ‘व्यवसायीले बगैँचा नै जिम्मा लिन आएपछि बजारको समस्या भएन, ’उनले भने, ‘गत वर्षभन्दा बढी मूल्य पाएका छौँ । यस वर्ष सुन्तलाबाट मनग्य आम्दानी हुने अपेक्षा गरेका छौँ ।’

म्यागङ–२ स्थित बुङ्ताङमा दुई दशकअघि धान फल्ने खेत र मकै, कोदो लगाउने बारी फाडेर सुन्तलाखेती विस्तार गरिएको थियो । पछिल्ला वर्षमा यहाँका किसानले जिल्लाका साथै मुलुकका अन्य जिल्लामा पनि सुन्तला पुर्‍याएर प्रशस्त आम्दानी लिँदै आएका सुन्तलाखेतीका अगुवा किसान गरबहादुर तामाङले बताए। 

‘विसं २०६० मा सुरु गरेको सुन्तलाखेतीलाई अरू किसानले नपत्याउँदा व्यावसायिक उत्पादन चुनौतीपूर्ण बनेको थियो । पछिल्लो पाँच वर्षयता बुङ्ताङलाई ‘सुन्तला गाउँ’को नामबाट चिन्न थालिएको छ, अहिले यहाँको सुन्तला गाउँको पहिचान बनेको छ, ’उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?