काठमाडौं । पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका छन् । आज जिल्ला अदालत कास्कीले थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
गत कार्तिक २ गते बनस्थलीस्थित कार्यालयबाट लामिछाने पक्राउ परेसँगै उनको दल रास्वपाले पोखरामा आन्दोलन गरिरहेको छ । पक्राउ परेपछि केही दिन दैनिक आन्दोलन गरे पनि अहिले भने केही दिन बिराएर आन्दोलन गरिरहेको छ ।
सभापति लामिछाने पक्राउ परेपछि कार्यबाहक कसले पाउलान् भन्ने विषयको चर्चा भइरहेको छ । हाल डोलप्रसाद अर्याल र डा. स्वर्णीम वाग्ले दुई उपसभापति रहेका छन् । दुवै मनोनयनबाट आएका कारण पार्टीमा दुवैको हैसियत बराबर रहेको छ ।
एकातिर यदी लामिछाने दोषी ठहरिएर जेलको यात्रा तय गरेमा त्यो पार्टी नै नरहला कि भन्ने अड्कलबाजी समेत हुन थालेको छ । अर्कोतिर यदी लामिछाने दोषी ठहरिएमा उक्त पार्टीलाई कसले नेतृत्व गर्ला भन्ने चासो पनि उत्तिकै छ । यहीबीच रास्वपाका नेताहरु लामिछानेप्रति उदार बन्न कोही आफैँ शहीद बन्न तयार हुन्छन् त कोही आजीवन रविलाई सभापति स्वीकार गर्न तयार रहेको अभिव्यक्ति दिन्छन् ।
केही समयअघि पोखरामा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले रविको लागि आफू शहीद बन्न तयार रहेको बताएका थिए । लामो समय नेपाली कांग्रेससँगको राजनीतिमा आवद्ध रहेका कारण उनीमाथि अहिले पनि कांग्रेसी नजरले हेर्ने गरिन्छ । सहकारी ठगी प्रकरणमा लामिछानेको नाम जोडिएपछि संसद्देखि सडकसम्म झाले रविका नाममा आफ्नो राजनीति छाड्नेदेखि ज्यानै दिनेसम्मका उदारता देखाएका छन् । जसकारण उनको आलोचना समेत भयो ।
उनले लामिछानेको प्रीय बन्न खोज्दा आफ्नो राजनीतिलाई नै दाउमा राखेको भन्दै ट्रोल समेत बनाइयो । झा मात्र होइन उपसभापति डीपी अर्यालले लामिछाने आजीवन रास्वपा सभापति हुने दाबी गरेका छन् । आज पोखराको विरोध सभालाई सम्बोधन गर्दै उनले रवि लामिछाने जीवित रहँदासम्म सभापति अरु हुन नसक्ने दाबी गरेका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ज्यूँदो रहेसम्म सभापति रवि लामिछाने नै हो । यसमा कसले कार्यवाहक सभापति पाउँछ वा पाउँदैन त्यो गौण कुरा हो,’ उनले भनेका छन् ।
रास्वपाले आगामी वैशाखमा आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन गर्ने तयारी गरेको छ । उपसभापति अर्यालको भनाइ अनुसार आगामी सभापति समेत लामिछाने नै बन्ने पक्का भएको छ । सभापति दोस्रो वरियताको नेताले नै एक कार्यकाल होइन आजीवन सभापति बनाउने प्रतिज्ञा गरेसँगै अध्यक्षबाहेकका पदहरुमा मात्रै निर्वाचन हुने देखिन्छ । विधिको शासनको कुरा गर्ने रास्वपाले अदालती प्रक्रियामा गइसकेको विषयलाई प्रभावित पार्न सडक आन्दोलन गरेको भन्दै आलोचना भइरहेका बेला नेताहरुको अभिव्यक्तिले रास्वपालाई थप विवादित बनाइरहेको छ ।
झा, अर्याल मात्र होइन अन्य नेताहरु समेत रविको प्रीय बन्न आफ्नै बौद्धिकता दाउमा राख्न समेत पछि पर्दैनन् । अहिले मात्र होइन उही बेला, जतिबेला स्वर्णिम भर्खर रास्वपा प्रवेश गरेका थिए । त्यतिबेलै स्वर्णिमले रविलाई नेपाली कांग्रेसका संस्थापक एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालासँग तुलना गरेका थिए । रविलाई विपीसँग तुलना गरेपछि उनको ठुलो आलोचना भएको थियो । झा, अर्याल र वाग्ले मात्र होइन रविको प्रीय बन्न अन्य नेताहरु समेत आफ्नो राजनीतिक भविष्यलाई नै दाउमा राखेर अभिव्यक्ति दिने गरेका छन्, जसले उनीहरुको व्यक्तिगत मात्र होइन पार्टीकै आलोचना हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया