रवि लामिछानेलाई मिले आजै, नभए भोलि बुटवल लगिने

बुटवलको सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रुपैयाँ उनको नाममा गएको थियो

लोकपथ
168
Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई पोखराबाट रुपन्देही लगिने भएको छ । उनलाई भोलि मंगलबारसम्म विमानमार्फत् भैरहवा हुँदै बुटवल लगिने भएको छ । विमान मिलेको खण्डमा आज सोमबार साँझ नै त्यसतर्फ लगिने प्रहरीको तयारी छ ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न रुपन्देही प्रहरीले उनलाई बुटवल लग्न लागेको हो ।

कास्की प्रहरीको हिरासतमै रहेको बेला प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गर्न लामिछाने, जीबी राईसहित १२ जनालाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतबाट अनुमति लिइसकेको छ । सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौरले लामिछानेलाई सकभर आज (सोमबार) साँझ नभए भोलि (मंगलबार) बिहान विमानबाट भैरहवा ल्याइने बताए ।

सूर्यदर्शन सहकारीको रकम हिनामिना आरोपमा अनुसन्धानका लागि कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिइसकेको छ । कास्की जिल्ला अदालतले पहिलो पटक ६, दोस्रो पटक ७, तेस्रो पटक १० र चौथोपटक १३ दिन म्याद थप गरेको हो ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको थियो । २ करोडमध्ये संस्थाले लिने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेको देखिएको छ । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।

यसअघि सहकारी ठगी आरोपमा कास्कीमा थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडेलाई रुपन्देही ल्याएर बयान लिई कास्की पठाइसकिएको छ । गोर्खा मिडियाकै उपाध्यक्ष बञ्जाडेको नाममा पनि २ करोड ५० लाख रुपैयाँ ऋण लिएको देखिएको छ । उनले २०७७ माघ २९ गते २ करोड ५० लाख मध्ये ५ लाख सेवा शुल्क कटाएर २ करोड ४५ लाख रुपैयाँ ऋण लिएको देखिएको छ । लामिछाने र बञ्जाडे दुवैको नाममा गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा रकम जम्मा भएको अनुसन्धानले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?