राष्ट्रिय परीक्षा बोर्ड अध्यक्षलाई जिम्मेवार बन्न ध्यानाकर्षण 

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवार बनाउन अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

खोटाङ केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका निरीक्षकले नियतवस केरमेट गरेर अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भए पछि अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले यस प्रति चासो राखेको हो ।

अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीनाको नेतृत्वको टोलीले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग यस विषयमा छलफल गरेको थियो र परीक्षा नियन्त्रकका अनुसार २०८० को SEE नतिजालाई हेर्दा (रिटोटलिङ) पुनर्योगको लागि निवेदन दिने १८ हजार ६१२ जना विद्यार्थी मध्य ८ सय ४८ जना विद्यार्थीको नतिजा परिवर्तन भएको पाइयो । जुन ४.५६% हो । 

त्यस मध्य २ सय जना विद्यार्थीले कपि हेर्न पाउ भनेर निवेदन दिएका थिए, जस मध्य ३६ जनाले विज्ञ सँग बसेर उत्तर पुस्तिका हेरेका थिए । विज्ञले फकाएर कपि (रिचेक) पुन परीक्षण नगर्न दबाब दिँदा दिँदै पनि १६ जना विद्यार्थीले कपि रिचेक (पुन परीक्षण)को लागि निवेदन दिएका र ती १६ जना निवेदन दिने विद्यार्थी मध्यबाट १० जनाको नतिजा परिवर्तन नै भएर आएको थियो । उत्तरपुस्तिका पुन परीक्षणका लागी निवेदन दिने विद्यार्थीलाई हेर्दा पुनः परीक्षण पश्चात् ६२.५% विद्यार्थीको नतिजामा परिवर्तन आएको देखिन्छ । यसै तथ्यलाई हेर्दा मात्रै पनि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, मातहतका संयन्त्रहरू तथा सम्बन्धित सरोकारवालाहरू कति गैरजिम्मेवार छन् र विद्यार्थीको भविष्यसँग कसरी खेलबाड गरिरहेका छन् भन्ने प्रष्ट देखिन्छ ।

यसका साथै राष्ट्रिय परीक्षा बोर्डमा, राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट पनि प्रभावकारी नरहेकोमा, वेबसाइट प्रभावकारी बनाउन समेत ध्यानाकर्षण गराएका छौँ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?