काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पुनः सरकारविरुद्ध खबरदारीलाई निरन्तरता दिने मनस्थितीमा पुगेको छ ।
सरकारले गरेको कामकारबाहीमा असन्तुष्टि जनाइरहेको माओवादी केन्द्रले यसअघि नै गत कार्तिक १० गते काठमाडौंमा खबरदारी सभा गरेको थियो । तर अब भने माओवादी केन्द्रले पालिका केन्द्रित खबरदारी सभा गर्ने भएको हो ।
आज बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पालिकास्तरको सम्मेलन र खबरदारी सभा एकैसाथ अघि बढाउने विषयमा छलफल अघि बढाएको हो ।
सरकारले १०० को गतिविधि हेरेर यसअघि नै प्रमुख प्रतिक्षी दल नेकपा माओवादी केन्द्रसहितका दलहरुले सरकारलाई सचेत गराएका थिए । तर सरकारले सो अवधिमा राम्रो काम गर्न नसकेको विपक्षी दलहरुको आरोप छ । यहीबीच सडकबाटै सरकारलाई खबरदारी गरेको माओवादीले पुनः सरकारलाई पालिकास्तरबाट खबरदारी गर्ने भएको हो ।
‘पालिकाको सम्मेलन पनि खबरदारी पनि एकैसाथ लैजाने र बृहत, बिहंगम, प्रभावकारी र व्यवस्थित जनपरिचालनको कार्यक्रम गर्ने भनिएको छ,’ आज बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने ।
तर उक्त खबरदारी सभालाई माओवादी केन्द्रले भने सरकारविरुद्धको आन्दोलनका रुपमा स्वीकार गरेको छैन । अहिले सरकारलाई किस्ता किस्तामा खबरदारी गर्ने र सरकारले राम्रो काम गर्न नसकेको अवस्थामा सरकारविरुद्ध प्रदर्शन गर्ने माओवादी केन्द्रको तयारी छ ।
गत असोजको दोस्रो साता देशभर आएको विनाशकारी बाढीपहिरो लगायत प्राकृतिक विपत्तिमा सरकारले राम्रो काम गर्न नसकेको माओवादीको आरोप छ ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको काम उल्ट्याउने काममा सरकार लागेको माओवादीको ठहर छ । भ्रष्टाचारको विरुद्धमा, सामाजिक न्यायको पक्षमा, सुशासनको पक्षमा आफूहरुले काम गरे पनि सरकारले त्यसलाई निरन्तरता दिन नचाहेको माओवादीको ठहर छ ।
साथै सरकारले भ्रष्टाचारीहरुलाई जोगाउँदै राम्रो काम गर्नेहरुलाई फसाउन लागेको सापकोटाको आरोप छ ।
‘जो जो यो देशमा राम्रो काम गरिरहेका छन् उनीहरुलाई हटाउने काम भइरहेको छ,’ उनले भने ।
त्यस्तै सरकार गठनका बेला सत्तारुढ दलका नेताहरुले संविधान संशोधनलाई मुख्य केन्द्रमा राखे पनि अहिले आएर त्यसलाई देखाउने आवरण मात्रै बनाएको माओवादीको ठहर छ । सत्तामा उक्लिन संविधान संशोधनको विषयलाई भ-याङ बनाए पनि अहिले त्यो विषय सेलाएको भन्दै सापकोटाले भने, ‘संविधान संशोधनको कुरा गरेर त्यो त आवरण मात्रै थियो । उहाँहरुलाई सत्तामा जानु थियो । सत्तामा जानका लागि उहाँहरुले संविधान संशोधनको कुरा गर्नुभएको थियो । हामी भन्छौँ, संविधान संशोधन गर्ने हो भने अग्रगमनको पक्षमा, परिवर्तनको पक्षमा जनताका अधिकारहरु बढाउने पक्षमा गरौँ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्छ भन्ने हाम्रो धारणा छ ।’
यो पनि…
सरकारसँग असन्तुष्ट विपक्षीहरु : मिलानको एजेण्डा नभेटिँदा दलमा अलमल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया