काठमाडौं । रक्षामन्त्री मानवीर राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्ने विषयमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।
आज बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै रक्षामन्त्री राईले अमेरिकी सेनाका एक जना रथी भ्रमणका लागि आएको विषयलाई सेना नै दलबलसहित आएको भन्ने कुरा झुटो रहेको बताए ।
‘एकजना अमेरिकी सेनाका रथी नेपाल भ्रमणमा आउनुभएको हो । त्यो भन्दा अर्को कुरा मलाई जानकारीमा छैन । उहाँ भ्रमणको लागि आउनुभएको र अरु सेनाहरु पूरै चाँही दलबलका साथ आएर कहीँ आएको भन्ने कुरा मलाई थाहा छैन । त्यो होइन,’ मन्त्री राईले भने ।
आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले सो विषयमा प्रश्न उठाएकी थिइन् ।
त्यस्तै महाकाली करिडोरलाई फास्ट ट्रयाकपछिको प्राथमिकतामा राखेर काम भइरहेको समेत उनले समितिलाई जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया