राष्ट्रपति पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच संक्षिप्त भेट

लोकपथ
21
Shares

अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेरियो गुटरेसबीच संक्षिप्त भेट भएको छ । 

अजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप-२९) मा भाग लिन कतारको दोहाबाट अजरबैजानको बाकु जानेक्रममा जहाजमा उनीहरुबीच भएको भेटमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याका बारेमा संक्षिप्त कुरा भएको हो । 

‘जलवायु परिवर्तन हामी सबैको साझा समस्या हो । हिमाल, पृथ्वी र मानव समुदायको रक्षाका लागि यो समस्या समाधान गर्न हामी सबै जुट्नुपर्छ’, उनीहरुबीच भएको संक्षिप्त कुराकानीलाई उद्धृत गर्दै राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । महासचिव गुटेरसले राष्ट्रपति पौडेल बसेको ठाउँमा आएर भेटेका थिए । 

आजबाट सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप-२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै यहाँ आइपुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?