आज हरिबोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरी मनाइँदै 

लोकपथ
42
Shares

काठमाडौं । हरिशयनी एकादशी देखि हरिबोधिनी एकादशीसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।

एकादशीहरूमा सबैभन्दा ठुलो एकादशीका रूपमा लिइने हरिबोधिनी एकादशी प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने गरिन्छ । 

आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिनमा क्षीर सागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

जनविश्वास तथा धार्मिक परम्पराअनुसार आजको दिन भगवान् विष्णु उठ्नु हुन्छ भन्ने छ । हरि शयनी एकादशीबाट चीर निद्रामा सुत्नु भएका विष्णु भगवान् आज उठ्ने विश्वास भएकाले पनि आजको एकादशीलाई विशेष मानिन्छ ।

आजको दिन तुलसीको विवाहको दिन भनेर पनि चिनिन्छ । वैदिक सनातन हिन्दु धर्म शास्त्रमा आयुर्वेदमा पनि महत्त्वपूर्ण भूमिका भएको तुलसीको बिरुवाको धार्मिक, सांस्कृतिक र वैज्ञानिक  रुपमा पनि निकै महत्त्व रहेको छ । त्यसैले त हिन्दु धर्मालम्बीहरुले आआफ्नो घरमा  तुलसीको  मोठ बनाउने र त्यसलाई पूजा गर्ने गर्छन् ।

हरि शयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूलमालाले सजाएर आज विवाह गरिने प्रचलन पनि रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?