दीपक मनाङे पक्राउ, अदालतमा बुझाइँदै

लोकपथ
245
Shares

काठमाडौं । प्रहरीले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज बिहान उनलाई काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले मनाङे पक्राउ परेको लोकपथलाई जानकारी दिए । एसपी बोगटीका अनुसार मनाङेलाई केहीबेरमा अदालत बुझाउने तयारी भइरहेको छ ।

सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको दिनदेखि मनाङे फरार रहँदै आएका थिए । यद्यपि, उनले फैसलाको पूर्ण पाठ आएपछि आफै प्रहरीकोमा जाने शुक्रबार विज्ञप्ती मार्फत् बताएका थिए ।

सर्वोच्चले गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर गर्दै उनलाई सो सजाय सुनाएको हो ।

मनाङेलाई यसअघि उच्च अदालतले दोषी ठहर गरेको थियो । उच्चको फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गरेका थिए । तर, सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्चको फैसला सदर गरेको हो ।

उच्च अदालत पाटनले मनाङेलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?