‘बडी क्यानभास’ मा कृष्णको जादु

‘क्युट’ अर्थात ‘कृष्ण घोजु’ । नाम जस्तै क्युट छन् कृष्ण अनि उत्तिकै क्युट अर्थात् सुन्दर छन् उनले कोर्ने बडी क्यानभासका चित्रहरु अर्थात ‘ट्याटु’ । ह्युमन बडीलाई क्यानभास बनाएर रंग भर्न अभ्यस्त कृष्णको कला युवाहरुमा मात्रै होइन वृद्धवृद्धाहरुका शरीरमा पनि उत्तिकै आकर्षक तरिकाले कोरिएका छन् ।

बालकैदेखि कलामा रुचि राख्ने कृष्णको पहिलो रोजाइ त संगीत थियो तर समयले उनलाई ट्याटु आर्टिस्ट बनाइदियो । ट्यापे मुन्द्रेले गर्ने कामको ट्यागलाइन पाएको ट्याटु पेसा रोज्दा उनले आफू र पेसालाई प्रमाणित गर्नुपर्ने चुनौती पनि उत्तिकै थियो । हुन पनि केही वर्षको अन्तरालमा यो पेसा र पेसामा आबद्धहरुप्रति हेर्ने नजरमा यसरी परिवर्तन भयो कि ट्याटु ट्यापे मुन्द्रेको काम होइन, अनि ट्यापे मुन्द्रेका शरीरका भित्तामा मात्रै होइन आम मानिसको रोजाइ बन्यो । कतिले आफूलाई सुन्दर देखाउन, कसैको चिनो खोप्न, कसैको लागि माया जताउन ट्याटु प्रचलित बन्यो । अहिले त युवा पुस्ताको रोजाइमा पर्ने पेसामध्येको एक बनेको छ ट्याटु आर्ट ।

पेसाले ट्याटु आर्टिस्ट कृष्ण रहरले भन्दा पनि एकाग्रता खोज्ने क्रममा ट्याटु आर्टिस्ट बनेको बताउँछन् । भक्तपुरस्थित पुरानो ठिमीको नेवार परिवारमा २८ वर्षअघि जन्मिएका कृष्णको रुचिको क्षेत्र त गीत संगीत थियो । तर, आफूलाई सम्हाल्न नसक्दा कलिलो उमेरमा कुलतको दलदलमा फसेसँगै गीत संगीत उनको रुचिमा मात्रै सीमित हुन पुग्यो ।

मध्यपुर ठिमीमा सञ्चालनमा ल्याएको ‘ग्रेस ट्याटु इन’ मा हरेक दिन शरीरका क्यानभ्यासमा ट्याटु खोप्नमा व्यस्त कृष्ण विगत ९ वर्षदेखि ट्याटु आर्ट गर्दै आइरहेका छन् । कृष्ण दिनमा ८ देखि १२ घण्टासम्म ट्याटु खोप्ने बताउँछन् ।

हामीले जीवनलाई कम्प्लिकेटेड बनायौं
कृष्णलाई पढाइमा फिटिक्कै रुचि थिएन । पढाइभन्दा संगीतमा उनी रमाउँथे । ६÷७ कक्षा पढ्दादेखि नै पढाइमा कम संगीतमा धेरै समय बिताउने उनी संगीत सृजनादेखि गायनमा आफूलाई अगाडि बढाउन चाहन्थे । कृष्णको बालढिपी देखेर परिवारलाई चिन्ता थियो गितार बोकेर गीत गाउँदै हिड्दा छोरो बिग्रने पो हो कि !

संयोग, कृष्णका साथीसंगत लागूऔषध दुव्र्यसनीमा फसिसकेका रहेछन् त्यो कृष्ण बुझ्न सक्दैन थिए । उनी त्यतिबेला मात्र ७ कक्षामा पढ्दै थिए । त्यति नै बेलादेखि विस्तारै विस्तारै उनी कुलतमा फस्दै थिए । परिवार, आफन्त, पढाइ, भविष्य केसैको पनि मतलव थिएन उनलाई । तर, कक्षा १० मा पढ्दा भने कृष्णलाई महसुस हुन थाल्यो कि अब दुव्र्यसनीबाट बाहिर निस्किनुपर्छ । कृष्ण आफूलाई सुधार्न चाहन्थे, सामान्य जीवनमा फर्कन चाहन्थे, परिवार साथीभाइसँग रमाउन चाहन्थे । अतः परिवारले उनलाई सुधार केन्द्रमा राखिदियो । १४–१५ वर्षको कलिलो उमेरमा सुधार केन्द्रमा जाँदा कृष्णलाई आफू कुनै दिन नयाँ जीवनमा फर्किन्छु भन्ने लागेकै थिएन रे । कृष्ण लागूऔषध दुव्र्यसनीमा यसरी फसिसकेका थिए कि त्यो दलदलबाट बाहिर निस्किने एउटै विकल्प भनेको सुधार केन्द्र थियो, जहाँबाट उनले नयाँ जीवनको सुरुवात गर्न सक्थे ।

ट्याटु एक पुरानो कलात्मक अभिव्यक्ति हो जुन अहिले निकै प्रचलित बनेको छ । परम्परागत मान्यता र धार्मिक विश्वासका आधारमा शरीरका विभिन्न भागमा ट्याटु खोप्ने प्रचलन पुरानै भएपनि अहिले यो फेसनको रुपमा विकास भएको छ । विशेष गरेर नेवारी समुदायमा र थारुहरुले शरीरमा ट्याटु खोप्ने प्रचलन रहिआए पनि पछिल्लो समय युवापुस्तामा ट्याटु क्रेज निकै बढेको छ ।

कृष्ण भन्छन्, ‘सुधार केन्द्रमा गएपछि जीवन के हो थाहा भयो । त्यहाँ भित्र जीवन खोज्न सिकाइन्थ्यो । परामर्श दिनुहुन्थ्यो । परिवारको महत्वबारे बुझाइन्थ्यो । आफूलाई कसरी एकाग्र राख्ने ? कसरी काममा ध्यान केन्द्रित गर्ने ? भन्नेबारे सिकाइयो । सुधार केन्द्रमा दुःख पनि देखेँ । मलाई पनि महसुस भयो कि मैले आफूलाई चिन्ने कोशिस नै गरेको रहेनछु ।’

गल्ती हरेक व्यक्तिबाट हुन्छ तर त्यसलाई सुधारेर अगाडि बढ्न सक्नुपर्छ । यो बुझेपछि कृष्णले आफू र परिवारलाई बुझ्ने कोशिस गरेका थिए । कृष्ण भन्छन्, ‘साँच्चै हाम्रो जीवन सरल छ तर यही सरलतालाई हामीले जटिल (कम्प्लिकेटेड) बनायौँ । धेरै कम्प्लिकेटेड बन्दा बिग्रने रहेछ । जीवनलाई सरल तरिकाले लिने हो भने सहज छ ।’ यति बुझेपछि उनी आफूलाई सुधार्ने बाटोमा लागेका थिए ।

३ महिनापछि सुधार केन्द्रबाट फर्किँदा परिवारको उनीप्रतिको आशा र भरोसा बिल्कुलै फरक थियो । कृष्ण भन्छन्, ‘मात्र ३ महिना परिवारसँग टाढा थिएँ । त्यहाँबाट फर्किदा परिवारले म पूरै सुध्रिएर आएको ठान्नुभयो तर म भर्खर आफूलाई चिन्दै थिएँ । मलाई बाटो देखाइएको मात्र थियो हिड्नु त म आफै थियो नि ।’

सुधार केन्द्रले कृष्णलाई जिन्दगीको बाटो देखाइदियो, लयमा हिँड्न सिकाइदियो तर हिँड्न बाँकी नै थियो । सुधार केन्द्रमा जाँदैमा सबै सुध्रिन्छन् भन्ने होइन । जसले आफूलाई चिन्न सक्छ, आफूलाई महसुस गर्न सक्छ, ऊ सुध्रिन सक्छ । कृष्णलाई पनि त्यही लाग्यो । उनी सुध्रिएर वास्तविक जीवनमा फर्कन चाहन्थे र कोशिस गरिरहे ।

सुधार केन्द्रबाट फर्किएपछि कलेज जाँदा फेरि कुलतमा फस्ने भय थियो कृष्णमा । त्यसैले, उनले फेरि पढाइलाई निरन्तरता दिन सकेनन् । बरु कामको खोजी गर्नतिर लागे । आफूलाई व्यस्त राख्न, रचनात्मक क्रियाकलापमा लाग्न चाहन्थे उनी । कृष्णलाई कलामा अनि संगीतमा खुब रुचि थियो । यस्तैमा भक्तपुरका ट्याटु आर्टिस्ट श्री किसीसँग उनले ट्याटु खोप्ने तालिम लिने निर्णय गरे । १६–१७ वर्षको कलिलो उमेर जता ढल्कायो उतै ढल्कने । ‘मोहन ट्याटु’का चर्चित ट्याटु आर्टिस्ट श्री किसीले सिकाएको ट्याटुको रेखा कोर्दै कृष्णले आफ्नो भविष्यको रेखा कोर्न सफल भए ।

आज कृष्ण एक सफल ट्याटु आर्टिस्ट मात्रै होइनन् युवा पुस्ता जो वास्तविक जीवनबाट टाढा भागेर कुलतमा फसिरहेका छन् उनीहरुका लागि प्रेरणा हुन् । १७ वर्षको उमेरबाटै व्यवसायिक रुपमा ट्याटु खोप्न थालेका उनले यो पेसा विस्तारै व्यवसायिक बन्दै जाँदा आफ्नो उज्ज्वल भविष्यको परिकल्पना गरिसकेका छन् । र त, उनले संचालनमा ल्याएको ठिमीस्थित ‘ग्रेस ट्याटु इन’ स्टुडियो दिनभरी जसो व्यस्त रहन्छ ।

सुरुका केही वर्ष जीवनमा खुवै उतारचढाव खेपेका कृष्ण पुनः कुलतमा फस्ने हुन् कि भन्ने चिन्ता परिवारमा थियो । आफूलाई स्थिर राख्न नसक्दा उनी पुनः दोस्रो पटक सुधार केन्द्र पुगेका थिए, जहाँ उनको संगत आफूभन्दा वरिष्ठ व्यक्तित्वहरुसँग भयो । उनी भन्छन्, ‘दोस्रो पटक जाँदा जीवनलाई राम्रोसँग बुझेँ । धेरै पढेलेखेका व्यक्तिहरु पनि त्यहाँ थिए । त्यो देखेर जीवन यसै खेर फाल्न हुँदैन भन्ने लाग्यो । आफूबाट परिवारले गरेको अपेक्षा अनि आफ्नो दायित्व महशुस भयो । अनि म त्यो ठाउँमा अनि त्यो अवस्थामा कहिल्यै नफर्कने अठोट गरेर फर्किएँ ।’

कृष्णको अस्थिरता यतिमै सकिएन । जीवन एकपटक पाइन्छ यसलाई यतिकै खेर फाल्न हुँदैन र केही गर्नुपर्छ भन्ने सोचले उनी आफूलाई मानसिक रुपमा बलियो बनाउनतिर लागे । उनी भन्छन्, ‘सुधार केन्द्रमा बसेर परिवारको पैसा मात्र सकेर केही नहुने देखेर म फर्किएको थिएँ । मानसिक रुपमा म बलियो बन्न चाहन्थेँ अनि विपश्यना ध्यान केन्द्रमा पुगेँ । जहाँ ७ दिन पनि बस्न सकिनँ । तर, घर आएपछि विपश्यनामा सिकेको विधि अवलम्बन गर्दै आफै ध्यान गर्ने, ट्याटुको डिजाइन बनाउने, गीत संगीत सुन्ने, गितार बजाउने यस्तै यस्तै गर्दै व्यस्त हुँदै आफूलाई परिवर्तन गरेरै छाडेँ।’

ट्याटु क्रेज युवादेखि वृद्धासम्म
ट्याटु एक पुरानो कलात्मक अभिव्यक्ति हो जुन अहिले निकै प्रचलित बनेको छ । परम्परागत मान्यता र धार्मिक विश्वासका आधारमा शरीरका विभिन्न भागमा ट्याटु खोप्ने प्रचलन पुरानै भएपनि अहिले यो फेसनको रुपमा विकास भएको छ । विशेष गरेर नेवारी समुदायमा र थारुहरुले शरीरमा ट्याटु खोप्ने प्रचलन रहिआए पनि पछिल्लो समय युवापुस्तामा ट्याटु क्रेज निकै बढेको छ । युवाहरु मात्रै होइन उमेर ढल्किएकाहरु पनि अहिले ट्याटु खोपाउन आउने गरेको कृष्ण बताउँछन् ।

विगत ११ वर्षदेखि ट्याटु खोप्दै आएका कृष्ण पहिले र अहिलेमा ट्याटु र यसबारेको धारणामा धेरै नै परिवर्तन आएको बताउँछन् । अहिले युवाहरु कुनै थिममा ट्याटु खोपाउन रुचाउँछन् । त्यसैगरी, भगवानको चित्र, आफूलाई मनपर्ने आकृति, सन्तानको चित्र, बाबु आमाको चित्र, नाम, प्रेमी प्रेमिकाको चित्र वा नाम खोपाउनेहरु पनि धेरै हुन्छन् । कतिले कसैको निशानीको लागि पनि ट्याटु खोपाउँछन् । कतिले त शरीरभरी नै विभिन्न आकृति बनाउने गरेको पनि पाइन्छ । युवतीहरू आकर्षक देखिनका लागि छाती, गर्धन, कम्मर, पेट, पिठ्यूँ, तिघ्रा, नाइटोजस्ता ठाउँमा ट्याटु खोपाउँछन् ।

समयसँगै मानिसको सोचमा पनि परिवर्तन हुनु स्वभाविक हो । ट्याटु खोपाउने र ट्याटु आर्टिस्टलाई ट्यापे मुन्द्रे उपनाम दिने र यी खराव हुन् भन्ने मानसिकता आज बदलिएको छ । यो एउटा कला हो, संस्कृति हो र अहिले ट्याटु कला माया, प्रेम अनि सम्मान दर्शाउने माध्यम समेत बनेको छ । कृष्णको ग्रेस ट्याटु इन स्टुडियोमा परिवारका सवै सदस्य एउटै प्रकारको ट्याटु खोपाउन पनि आउँछन् । यो देख्दा उनलाई खुव रमाइलो लाग्छ । भन्छन्, ‘परिवारमा कसैको सम्झना गर्दै चिनोको रुपमा एउटै ट्याटु खोपाउन पनि आउनुहुन्छ । कोही आमाछोरी, बाबुछोरा, दिदीबहिनी, दाजुभाइ, साथीसाथी उस्तै ट्याटु बनाउन आउनुहुन्छ । कतिले परिवारमा स्वर्गीय भइसकेका आफन्तको सम्झनामा ट्याटु खोपाउनुहुन्छ भने कतिले आफ्ना प्रिय व्यक्तिको तस्विर अनि नाम खोपाउनु हुन्छ । त्यो देख्दा चाहिँ आफूले गरेको कामप्रति निकै गर्व लाग्छ ।’

कृष्णले आजसम्म कतिजनाको शरीरमा ट्याटु खोपे त्यसको गणना छैन । ट्याटु आर्ट गर्न थालेपछि थुप्रै परिवर्तन देखेका छन् उनले, ट्याटुप्रतिको धारणामा आएको परिवर्तनले यो पेसालाई व्यवसायिक बनाउन उनी जस्ता थुप्रै युवा लागिपरेका छन् ।

व्यवसायिक बन्दै ट्याटु
ट्याटु पेसाले व्यवसायिकता पाउन थालेको धेरै भएको छैन । पहिले रहरले गरिने यो काम अहिले व्यवसायिक बन्दै गएसँगै युवायुवतीहरु यो पेसाप्रति आकर्षित हुँदै गइरहेका छन् । ट्याटु आर्टिस्टका रुपमा थुप्रै युवायुवती स्वरोजगार बनेका छन् । कृष्ण आफूजस्तै यो पेसामा लाग्न चाहनेहरुलाई ट्याटु आर्ट सिकाइरेका छन् ।

कृष्ण नेपालका विभिन्न सहरमा समय समयमा हुने ट्याटु प्रतिस्पर्धामा सहभागी हुन्छन् । उनको कलाले जहाँ गएपनि खुवै प्रशंसा बटुलेको छ । उनी भन्छन्, ‘ट्याटु कला हो, तर आफ्नो पूर्ण भावना पोख्न पाइन्न । आर्टिस्ट र क्लाइन्टबीच बराबरी समझदारीमा ट्याटु बनाउनु पर्ने हुन्छ । जसरी क्यानभासमा आर्ट गर्दा आफ्नो पूरै भावना पोख्न पाइन्छ भने ट्याटुमा क्लाइन्टको चाहनाअनुसारको बनाउनुपर्ने हुन्छ । शरीरको क्यानभासमा आर्ट गर्ने भएकाले यसमा विशेष ध्यान दिनुपर्छ । मिहिनेत धेरै पर्छ । ट्याटु खोप्न भन्दा डिजाइन तयार पार्न समय लाग्छ । मिहिनेत गरेअनुसार सवैले राम्रो भन्नुहुन्छ ।’

कृष्ण ट्याटु कसैको शरीरमा सिधै आर्ट गर्ने भएकाले अलि जोखिमपूर्ण पनि हुने बताउँछन् । ट्याटु गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । कसैको छालामा एलर्जी हुन्छ भने त्यस्तो छालामा ठूला ट्याटु बनाउन नहुने सल्लाह उनी दिन्छन् । त्यसैगरी, ट्याटु खोप्दा हल्का दुख्ने भएकाले कोही व्यक्ति सामान्य दुखाइ सहन गर्न नसक्ने हुन्छ, त्यस्ता व्यक्ति, उच्च रक्तचाप वा मुटुको समस्या भएका व्यक्तिहरुले पनि ट्याटु नखोप्दा ठीक हुने कृष्णको सुझाव छ । सामान्य अवस्थामा भने यसले कुनै असर गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?