नेपाल इन्जिनियरिङ कलेज प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते

लोकपथ
70
Shares

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) ले प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा मंसिर २ गते गर्ने भएको छ । इन्जिनियरिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रादेशिक छात्रवृत्ति प्रदान गर्दै आइरहेको नेकले यो वर्षको प्रवेश परीक्षा मंसिर २ गते गर्ने भएको हो ।

कलेजले इन्जिनियरिङ विधाका सातवटा विषयमा स्नातक तहमा अध्ययन गर्न विद्यार्थीहरुलाई प्रदेश अनुसार छात्रवृत्ति दिँदै आएको छ ।

प्रवेश परीक्षा भक्तपुर चाँगुनारायणस्थित कलेजमा हुनेछ । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा स्थापित कलेजले देशका सबै क्षेत्रका विद्यार्थीहरुले इन्जिनियरिङ शिक्षा हासिल गर्न सकुन् भनेर प्रादेशिक छात्रवृत्ति दिएको कलेजका प्राचार्य दुर्गाप्रसाद भण्डारीले बताए ।

कलेजले यसअघि लिएको प्रदेश परीक्षामा सहभागी भई पास भएका तर, फर्म भर्दा प्रादेशिक छात्रवृत्तिमा समेत टिक लगाएका विद्यार्थीहरु पनि प्रवेश परीक्षामा सहभागी हुन पाउँनेछन् ।

कलेजले सातवटा विषयमा सातै प्रदेशका लागि एकएक वटा पूर्णछात्रवृत्ति प्रदान गर्दछ । नेकको प्रादेशिक छात्रवृत्ति पाउनका लागि प्रादेशिक छात्रवृत्तिको प्रवेश परीक्षा पास गर्नुपर्छ । सरकारी स्कुलबाट कक्षा १२ पास गरेका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर छात्रवृत्ति दिइने गरिन्छ । त्यसका लागि विद्यार्थीले प्रदेशको स्थानीय तहबाट सिफारिस समेत ल्याउनु पर्ने प्रावधान रहेको कलेजका मिडिया रिलेसन अफिसर आशिषकुमार झाले बताए ।

सन् १९९४ मा स्थापना भएको नेकमा इन्जिनियरिङका स्नातक, स्नातकोत्तर तहमा अध्ययन अध्यापन हुने गरेको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा स्नातक तहमा सिभिल इन्जिनियरिङ, कम्प्युटर, सिभिल एण्ड रुलर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्स, सिभिल फर डिप्लोमा होल्डर्स तथा आर्किटेक्ट विषयमा अध्ययन गर्न सकिन्छ ।

नेकले प्रादेशिक छात्रवृत्तिसँगै अन्य विभिन्न छात्रवृत्तिहरु प्रदान गर्दै आइरहेको छ । कलेजले प्रवेश परीक्षामा सर्वोत्कृष्ट हुने, सेमेष्टर टपर, स्थानीय तहका विद्यार्थीहरुलाई छात्रवृत्ति दिँदै आएको छ । कलेजले हरेक वर्ष करिब १५ करोड बराबरको छात्रवृत्ति दिने गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?