बुद्धले सस्तायो रात्रिकालीन उडानको भाडा (यी हुन् भाडा सस्तिएका गन्तव्य)

लोकपथ
7.3k
Shares

काठमाडौं । त्रिभुवन विमानस्थलको स्तरोन्नतिका कारण हवाई भाडा महँगिएपछि बुद्ध एअरले रात्रिकालीन उडान थप गरी भाडा घटाएको छ । बुद्ध एअरले मङ्गलवार एक सूचना जारी गर्दै, पोखरा, नेपालगन्ज, भद्रपुर र जनकपुरको रात्रिकालीन उडानको भाडा घटाएको जनाएको हो ।

बुद्ध एयरका अनुसार दिउँसोको समयमा उच्च मागका कारण दिवाकालीन उडानको भाडा महँगिएपछि रातको समयमा उडान थप गरी भाडा घटाइएको हो । एयरलाइन्सले पोखरा, नेपालगन्ज, भद्रपुर र जनकपुरमा उडान थप गरी पोखराका लागि पाँच सय रुपैयाँ र नेपालगन्ज तथा भद्रपुरका लागि एक हजार रुपैयाँ भाडा घटाएको हो । त्यसै गरी जनकपुरमा समेत रात्रिकालीन उडान थप गरी ८ सयले भाडा घटाएको छ ।

बुद्ध एयरले अहिले दिनको समयमा काठमाडौं पोखराको भाडा ४ हजार २ सय रुपैयाँ लिएको छ । तर, रातको ८ बजेपछि हुने उडानमा काठमाडौं–पोखराको भाडा ३ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।

त्यसै गरी दिनको समयमा ६ हजार ५ सय रुपैयाँ रहेको काठमाडौं नेपालगन्जको भाडामा राति ८ बजेपछिको उडानमा ५ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । त्यसै गरी दिनको समयमा ६ हजार २ सय रुपैयाँ रहेको भद्रपुरको भाडामा रातको समयमा हुने उडानको शुल्क ५ हजार २ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै दिउँसोको समयमा ४ हजार १ सय रुपैयाँ रहेको काठमाडौं जनकपुरको उडानमा राति ८ बजेपछि भने ३ हजार ३ सय रुपैयाँ भाडा दर कायम भएको छ ।

काठमाडौंमा एयर ट्राफिक जामका कारण उडान कटौती भएसँगै बुद्ध एयरले पोखराबाट भैरहवाको उडानसमेत थप गरेको छ । पहिले दैनिक एक उडान हुने गरेकामा अब बिहान र बेलुका गरी दैनिक दुई उडान सुरु गरेको छ ।

त्यसै गरी पोखराबाट नेपालगन्ज सातामा तीन उडान रहेकामा बुद्ध एयरले अब दैनिक उडान सुरु गरेको छ ।

काठमाडौं विमानस्थल मर्मतका कारण दैनिक १० घण्टा बन्द हुने भएपछि कतिपय विमान कम्पनीले भैरहवाबाट उडान सुरु गर्दा बुद्धले भैरहवामा थप उडान सुरु गरेको हो । त्यसबाहेक भैरहवाबाट अन्तर्राष्ट्रिय उडान गर्नेहरूका लागि बुद्ध एअरले यसअघि १५ केजी लगेज र ५ केजी ह्यान्ड क्यारीको सुविधा दिएकामा अब अन्तर्राष्ट्रिय उडान गर्नेहरूका लागि २५ केजी लगेज र ७ केजी ह्यान्ड क्यारीको सुविधा सुरु गरेको बुद्ध एयरले जनाएको छ ।

विमान कम्पनीहरूले भैरहवामा थप उडान सुरु गरी सुविधा थप गरेपछि त्यस क्षेत्रमा आर्थिक चलायमान बढ्ने र पर्यटन क्षेत्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?