काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सादा पोशाकको टोलीले मनाङेलाई आज बुधबार बिहान स्वयम्भू, सानोभर्याङस्थित कम्फोर्ट हाउजिङमा ब्रेकफास्ट खाँदै गर्दा पक्राउ गरेको थियो ।
पक्राउपछि उनलाई सुरुमा स्वास्थ्य जाँचका लागि अस्पताल र त्यसपछि जिल्ला अदालत काठमाडौं लगिएको थियो । सर्वोच्च अदालतले ५ वर्षको जेल सजाय सुनाएको दिनदेखि मनाङे फरार रहँदै आएका थिए । यद्यपि, उनले फैसलाको पूर्ण पाठ आएपछि आफै प्रहरीकोमा जाने शुक्रबार विज्ञप्ती मार्फत् बताएका थिए ।
सर्वाेच्चले गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा दोषी ठहर गर्दै उनलाई पाँच वर्ष सजाय सुनाएकोमा उनी २ वर्ष आठ महिना जेलमा बसिसकेको छन् । अब २ वर्ष ४ महिना मात्रै भुक्तान गर्न बाँकी छ । मनाङेलाई यसअघि उच्च अदालतले दोषी ठहर गरेको थियो ।
उच्चको फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गरेका थिए । तर, सर्वाेच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले उच्चको फैसला सदर गरेको थियो । उच्च अदालत पाटनले मनाङेलाई २०७८ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । २०६१ सालमा चक्रे मिलनमाथि आक्रमण गरेको आरोपमा दीपक मनाङेसहित उनको समूहका युवाहरुलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया