अर्याल र वाग्लेले भेटेपछि रास्वपाले भन्यो : सभापति लामिछाने अटल र अविचलित भएर लड्नुहुनेछ

लोकपथ
147
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको हिरासत बसाइ र उनको अवस्थाबारे पहिलो पटक औपचारिकरुपमा जानकारी गराएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीमा भएको अपचलनको अनुसन्धान गर्न आज रुपन्देही लगेकै दिन रास्वपाले सन्देशमार्फत् हिरासत बसाइ र उनको अवस्थाबारे जानकारी राएको हो ।

साथै पार्टीको आगामी रणनीति पनि सन्देशमा समेटिएको छ । सन्देशमा पार्टी सभापति लामिछाने अडिग, अटल र अविचलित भएर आफूविरुद्ध भएको अन्यायविरुद्धको कानुनी लडाइँमा लड्ने पनि रास्वपाले प्रस्ट पारेको छ । रास्वपाका दुई उपसभापति डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेले मंगलबार हिरासतमा लामिछानेसँग सम्वाद गरेका थिए । सोही अनौपचारिक संवादका आधारमा केन्द्रीय समितिले सन्देश जारी गरेको हो ।

‘हिरासतको जीवन सहज कसैका लागि पनि सहज हुँदैन, तर सभापतिसँगको हरेक भेटमा हामी सबैले महसुस गरेको एउटा कुरा के हो भने उहाँ हतास हुनुभएको छैन,’ रास्वपाले भनेको छ, ‘राणाशासन मुर्दावाद भनेर यो देशमा जनताको पक्षमा आवाज बुलन्द गरेका गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री र दशरथ चन्द एवं विभिन्न कालखण्डका सङ्घर्षमा लड्नुभएका दर्जनौं सहिदहरुको स्मरणले मलाई निष्ठाभाव र निडर हुने ताकत दिएको छ । अनि तपाईहरूले देश र विदेशबाट दिनुभएको माया र आशिर्वादले दरिलो मुटु । भनेर हरेक भेटमा उहाँले आफ्नो मनोबल उच्च राख्दै हामी सबैको हौसला बढाइराख्नु भएको छ ।’ हिरासतमा रहेका सभापति लामिछानेसँग गरिएको अनौपचारिक संवादमा आधारित रही केन्द्रीय समितिद्वारा तयार पारिएको सन्देशमा भनिएको छ, ‘आज यस घडीमा नेपाल, न्याय र लोकतन्त्रमाथि विश्वास राख्ने हामी सबैले आक्रोशका साथ भन्नैपर्छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अन्यायको चक्रव्युहमा फसाइएको छ ।

यो त्यस्तो विन्दु हो कि यहाँ राज्यको डरलाग्दो, निकृष्ट प्रतिशोध छ भनेर सायद अब कसैलाई पनि बुझाइराख्नु पर्दैन । हिरासत बाहिर राखेर गर्न सकिने अनुसन्धानलाई मानमर्दन, धम्की र अपमानको घिनलाग्दो औजार बनाइएको छ । सत्ता सञ्चालकले प्रतिशोधको ज्वाला यसरी दन्काउँदै छन् कि उनीहरू सभापतिसँगै नागरिकमा जागेको आशा र वैकल्पिक राजनीतिक शक्तिप्रति बढेको विश्वास निमोठ्न चाहन्छन् । प्रतिशोधविरुद्ध शान्तिपूर्वक ऐक्यबद्धता जनाउनेहरूलाई दमन गरिएको छ । यस्तो लाग्छ यो देश अब त्रासको ताप र छहारीमुनि बाँच्न सक्नेहरूका लागि मात्र हो ।’ लामिछानेले हिरासतभित्रबाट आफूमाथि शुभेच्छा राख्ने सबैमाथि आभार सुनाइदिन पनि आग्रह गरेको रास्वपाले बताएको छ । सरकार र पुराना दलहरूका कारण नेपालमै केही गरौँ भन्ने सोच भएका नेपालीहरूमा पनि निराशा बढ्दै गएको रास्वपाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?