दोलखा । राष्ट्रिय गौरव बोकेको ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौँ मूल्य बराबरका विभिन्न सरसामानहरू चोरी भएका छन् ।
गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्याएको बाँधस्थलका कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरू मर्मतका क्रममा निकालिएका महत्त्वपूर्ण सामग्रीहरू चोरी भएको अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कर्मचारी यूनियनले जनाएको छ ।
युनियनले हिजो सोमबार ध्यानाकर्षण पत्र जारी गर्दै आयोजनाबाट महत्त्वपूर्ण सामग्रीहरू शंकास्पद र रहस्यमयी ढंगबाट चोरी भएको जनाउँदै आवश्यक छानबिन गरी दोषीउपर कडा कारबाही गर्न अनुरोधसमेत गरेको छ । ‘तीनै तहको सुरक्षा घेराभित्र रहेको अवस्थामा विगतमा पनि आयोजनाका करोडौँ करोड पर्ने क्रेनलगायत बहुमूल्य सम्पत्ति चोरी भएको सर्वविदितै छ ।
यसरी, अपर तामाकोशी कम्पनीको सम्पत्ति पटक–पटक चोरी निकासी हुनु रहस्यमय र शङ्कास्पद विषय भएकाले अपर तामाकोशीको सार्वजनिक सम्पत्ति दोहन र चोरी निकासी गर्नमा संलग्नमाथि आवश्यक छानबिन गरी दोषीउपर कडा भन्दा कडा कानुनी कारबाहीको लागि यस युनियन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
खास गरी बाढीबाट बाँधस्थलका क्षतिग्रस्त कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरु मर्मतका क्रममा निकालिएका जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू चोरी भएको युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठले बताए । चोरी भएका ती सामग्रीहरू करोडौँ मूल्य पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीको सम्पत्ति भएको उनको भनाइ छ ।
युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठ र महासचिव राजकुमार श्रेष्ठद्वारा संयुक्त रूपमा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘क्षतिग्रस्त कन्ट्रोल विल्डिङ लगायतका स्थानहरूको सरसफाई गर्ने क्रममा निकालिएको जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, आल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू लगायतका करोडौँ पर्ने अपर तामाकोशी हाइड्रोपावर लिमिटेड कम्पनीका सम्पत्ति चोरी निकासी भएको संचारमाध्यमबाट जानकारी प्राप्त हुँदा यस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ तीन तहको सुरक्षा घेरा रहेको आयोजना परिसरबाट बहुमूल्य सामग्रीहरू चोरी हुनु शङ्कास्पद रहेको युनियनको ठहर छ ।
असोज ११ र १२ गतेको वर्षापछि आएको बाढीबाट क्षति भएको आयोजनाका विभिन्न संरचनाहरू हाल मर्मतसम्भार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया