काठमाडौं । जापानको मात्सुमोतो नगरका प्रमुख योशिनाओ गानलाई काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले ढाका टोपी उपहार स्वरुप दिएका छन् ।
काठमाडौँको अवलोकन भ्रमणमा रहेका मात्सुमोतो नगरपालिकाका प्रमुख योशिनाओ गान नेतृत्वको प्रतिनिधि मण्डलको स्वागत गर्दै शाहले मित्रताको चिनो स्वरुप ढाका टोपी र देशे मरु झ्याः को प्रतिक उपहार स्वरुप प्रदान गरेका हुन् ।
यस्तै मात्सुमोतोका प्रमुख गानले, हस्तकलाबाट निर्मित सामग्री उपहार स्वरुप प्रदान गरे । भ्रमण टोलीका सदस्यहरुलाई महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ढाका टोपी, पस्मिनाको सल र वुद्ध प्रतिमा उपहार स्वरुप प्रदान गरिन । मात्सुमोतोको प्रतिनिधि मण्डलमा मात्सुमोतो नगर परिषदका अध्यक्ष युताका कामिझोसहित विभिन्न संघसंस्थाका १९ जना प्रतिनिधि सहभागी छन् ।
स्वागत कार्यक्रममा मात्सुमोतो नगरका कर्मचारीहरुकातर्फबाट संकलन गरिएको दुई लाख जापानी येन प्रमुख गानले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई हस्तान्तरण गरेका थिए । गएको असोज महिनामा काठमाडौंमा बाढी आएर जनजीवनमा प्रभाव पारेको खबर पाएपछि यस प्रकारको प्रकोपमा सहयोग गर्न रकम संकलन भएको रकम भ्रमणका अवसरमा हस्तान्तरण गरिएको हो । स्वागत कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसहित पदाधिकारीहरु सहभागी थिए ।
प्रतिनिधि मण्डल मंगलबार काठमाडौं आएको हो । आगमन अवसरमा प्रमुख गानलाई अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीसहित अधिकारीहरुले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका थिए ।
मंगलबार नै टोलीले ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन गरेका हुन् । बुधबार बसन्तपुर, स्वयम्भू र बौद्ध क्षेत्रको अवलोकन गर्ने, नयाँ बजारमा रहेको मल्टिपर्पोस मार्सल आर्ट सेन्टरको अवलोकन गर्ने तथा स्थानीय संघसंस्थाहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । भोलि भक्तपुरको अवलोकन गरेर टोली साँझ स्वदेश फर्कनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया