काठमाडौं । नेपालका चर्चित संगीतकार तथा गायक कालीप्रसाद बासकोटा आफ्नो सांगीतिक करियर १५ वर्ष पुगेको अवसर पारेर पोखरा र बुटवलमा गुञ्जने भएका छन् । नवीन शैलीका गीत गाउन र तयार पार्न रुचाउने कालीप्रसाद आफ्नो व्याण्ड साथीभाइसहित पोखरा र बुटवलमा गुञ्जन लागेका हुन् ।
काली र उनको व्याण्ड साथीभाइ यही शुक्रबार पोखराको लेकसाइडमा अवस्थित किङ्स लन्जमा सांगीतिक प्रस्तुती दिँदैछन् । त्यहाँ उनीहरुको व्याण्डको तेस्रो प्रस्तुती हुनेछ । किङ्स लाउन्ज पोखराले कालीका फ्यानहरुबाट उनलाई पुनः सुन्ने चाहना राखेपछि काली र उनको व्याण्डको कार्यक्रम राखिएको जनाएको छ ।
काली र उनको व्याण्डले पोखरापछि शनिबार बुटवलको द कन्सेप्ट क्लब एण्ड पबमा आफूलाई प्रस्तुत गर्नेछ । पोखरा र बुटवलपछि काली र उनको व्याण्डले निकट भविष्यमै सुनसरी, झापा, चितवनलगायतका स्थानमा आफूलाई गुञ्जाउँदैछन् । यसअघि उनीहरुले काठमाडौंसहित ललितपुर, मोरङ, सुनसरी, धनकुटा र भोजपुरमा प्रस्तुती दिइसकेका छन् ।
टुरले आफ्नो व्यक्तिगत उपलब्धिलाई मात्र उत्सवका रुपमा मनाउने नभई नेपाली संगीतको वृत्ति विकासलाई पनि उजागर गर्ने बास्कोटाले बताए । उनले यो टुरले फ्यानमाझ पुराना र नयाँ गीत पस्कनेसँगै यो यात्रा, करियर, गीत सिर्जनाका अविष्मरणीय क्षणलाई दर्शकमाझ प्रस्तुत गर्ने बताए ।
कालीप्रसादको नेपाल टुरको व्यवस्थापन पीभीई नेटवर्कले गर्नेछ । नेटवर्कले चार वर्षदेखि काली र उनको व्याण्डको व्यवस्थापन हेर्दै आएको छ । पीभीई नेटवर्कका विकेश कायस्थले बास्कोटाको करियरको १५ वर्षे उत्सवमा हातेमालो गर्न पाउँदा उत्साहित रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया