काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डिडिकेटेड र ट्रंकलाइनको बक्यौता नबुझाउने उद्योगले १५ दिनभित्र बक्यौता नबुझाए पुनः लाइन काट्ने चेतावनी दिएका छन् । बुधबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले नेपाल सरकारले विद्युत जोड्न निर्देशन दिएपछि आफूहरुले विद्युत जोड्ने तर १५ दिनभित्र बक्यौता नबुझाएमा पुनः लाइन काट्ने बताएका हुन् ।
कार्यकारी निर्देशक घिसिङले पत्रकार सम्मेलनमा भने, ‘हामीले पछिल्लो पटक समेत गरि ४ औँ पटक लाइन काटेका थियौँ । कार्तिक ८ गते हामीले लाइन काटेका थियौँ । त्यसपछि भर्खरै नेपाल सरकारले एउटा निर्देशन दिएको छ, १५ दिनभित्र बक्यौता उठाउने गरि हालका लागि २४ घण्टाभित्र लाइन तत्काल जोड्ने भन्ने निर्देशन प्राप्त भएको छ । हामी १५ दिनभित्र विद्युतको बक्यौता रकम उठाउन लाग्ने छौँ । उहाँहरुले १५ दिनभित्र नेपाल सरकारको निर्देशन बमोजिम बक्यौता बुझाउनुपर्ने छ ।’
घिसिङले प्राधिकरणले सरकारको निर्देशन पालना गर्दै उद्योगमा बिजुली जोड्ने निर्णय गरेको बताउँदै जनतालाई अध्यारोमा राखेर उद्योगमा प्रयोग भएको बिजुलीको बक्यौता कानुनसम्मत जुनसुकै हालतमा उठाउँने प्रतिवद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया