कर्णाली याक्समा भारतका ओपनर शिखर धवन अनुबन्ध

लोकपथ
371
Shares

काठमाडौं। हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ ।

कर्णाली प्रदेशको प्रतिनिधित्व गरेको कर्णाली याक्सले बिहीबार भारतीय राष्ट्रिय टिमबाट तीनै फर्म्याट क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।

सम्झौतामा मालिक झनक दत्तखनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने गोप्य राखिएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा कर्णाली याक्सका मालिक झनक दत्तखनाल र धवनसँगै भारतका लागि कार्य वहाक राजदूत डाक्टर सुरेन्द्र थापासहित कर्णाली याक्सका सह–मालिक गृहेन्द्र घिमिरेको उपस्थिति थियो ।

३८ वर्षीय बायाँ हाते ओपनरले भारतसँगै आईपिएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाव किंंग्सबाट खेलेका छन् । उनी विश्व क्रिकेटकै सर्वाधिक सफल खेलाडीमा चिनिन्छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपिएल जिताएका थिए । त्यस्तै, भारतलाई एसिसी एसिया कपको उपाधि जिताएका छन् ।

धवनलाई कर्णाली याक्समा अनुबन्ध गरेपछि मालिक झनक दत्तखनालले खुसी व्यक्त गरे । उनले नेपाली क्रिकेटकै लागि ठूलो उपलब्धि रहेको बताए । ‘विश्व क्रिकेटकै चर्चित खेलाडीलाई नेपाली क्रिकेटमा समावेश गर्न पाउँदा सिङ्गो कर्णालीयाक्स टिम नै खुसी छौँ । यो हाम्रो र नेपाली क्रिकेटको लागि ठूलो उपलब्धि हो’ खनालले भने, ‘धवनको आगमनले कर्णाली याक्सलाई मात्रै नभएर नेपाली क्रिकेट र नेपाली खेलाडीलाई फाइदा पुग्ने विश्वास छ ।’

धवनले आगामी लिगमा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन् । ‘कर्णालीयाक्सले मलाई लिगको लागि अनुबन्ध गरेको छ। यो लिग खेल्न म निकै उत्साहित छु,’धवनले भने ।

कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतको लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । १६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् । त्यस्तै, ६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् ।

टिमको मार्की खेलाडीमा राष्ट्रिय टिमका  तिव्र गतिका बलर सोमपालकामी छन् । यस्तै टोलीमा राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्टन झा, देव खनालसहित नन्दन यादव छन् । अन्य खेलाडीमा ‘बी’श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

 प्रतियोगिता मंसिर १५ देखि पुस ६ सम्म हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?