बुटवलमा रवि लामिछानेको बयान आजै सक्ने तयारी, आजै पोखरा लगिने

लोकपथ
140
Shares

बुटवल । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज बिहीबार नै सक्ने गरी बयान सुरू भएको छ । उनीसँग आज लागातार तेस्रो दिन पनि बयान लिइएको हो ।

आज बयान सकिएपछि लामिछानेलाई पोखरा पठाइने बताइएको छ । पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजो बुधबारदेखि लिखित बयान लिन सुरू गरिएको थियो । मंगलबार भने मौखिक बयान लिइएको थियो । बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ । बयानका आधारमा पुरक प्रतिवेदन बनाउने तयारी छ ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको थियो । २ करोडमध्ये संस्थाले लिने सेवा शुल्क कटाएर लामिछानेले १ करोड ९६ लाख ऋण लगेको देखिएको छ । ऋण लैजाने क्रममा उनी गोर्खा मिडिया नेटवर्कमा कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए ।

बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा पनि उल्लेख छ । जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?