काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा केही दिनदेखि गृहजिल्ला डडेल्धुरामा छन् । देउवापत्नी एवं परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि यही मौका छोपेर भोलि शुक्रबार डडेल्धुरा जाने कार्यक्रम छ ।
नेपाली कांग्रेस डडेल्धुराले भने परराष्ट्र मन्त्री आरजुको जिल्ला भ्रमणलाई यति महत्व दिएको छ कि उनी गृहजिल्ला आउँदा फूलमालासहित स्वागत गर्न उर्दी नै जारी गरेको छ । कांग्रेस डडेल्धुराले हिजो बिहीबार विज्ञप्ति नै निकालेर यस्तो उर्दी जारी गरेको हो । केही कांग्रेस नेता/कार्यकर्ताले यस्तो उर्दीको विरोध गरेका छन् ।
कांग्रेस डडेल्धुारा जिल्ला सभापति भीमबहादुर साउँदले विज्ञप्ति नै निकालेर परराष्ट्र मन्त्री राणा आउँदा डडेल्धुरा बसपार्कमा फूलमालासहित उपस्थित रहन नेता, कार्यकर्ताहरूलाई आदेश दिएका हुन् । डडेल्धुरा बसपार्कमा भेला भएर परराष्ट्रमन्त्री कार्यक्रमलाई स्वागत गर्ने कार्यक्रम छ । सभापति साउँदले महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमिति पदाधिकारी र सदस्य, प्रदेश सभा क्षेत्रीय कार्यसमितिहरू, पालिका कार्यसमितिहरू, वडा र टोल कार्यसमितिलाई परराष्ट्र मन्त्री आउने कार्यक्रममा फूलमालासहित उपस्थित रहन भनेका हुन् । साथै क्रियाशील सदस्यहरू, उद्योगी र व्यापारीहरूलगायतलाई पनि फूलमालासहित डडेल्धुरा बसपार्कमा उपस्थित हुन सभापति साउँदको उर्दी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया