अजरबैजान । अजरबैजानको बाकुमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९०को आज चौथो दिन जारी छ ।
भव्य समारोहका बीच सम्मेलन उद्घाटन भएसँगै यही कात्तिक २७ र २८ गतेको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरूले आआफ्ना धारणा व्यक्त गरेका थिए । ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’ शीर्षकको उच्चस्तरीय सत्रलाई राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २७ गते सम्बोधन गरेका थिए । सम्मेलनमा नेपाली टोलीको नेतृत्व राष्ट्रपति पौडेलले गरिरहेका छन् ।
त्यस्तै नेपालले कात्तिक २८ गते सम्मेलनमा छुट्टै उच्चस्तरीय कार्यक्रम गरी जलवायुको असरले निम्त्याएका मौसमी विपद्बारे विश्वको ध्यानाकर्षण गराएको छ । राष्ट्रपति पौडेलको नेतृत्वमा सो कार्यक्रम आयोजना गरिएको थियो ।
सम्मेलनमा नेपालसहित अन्य पर्वतीय मुलुकका उच्चस्तरीय प्रतिनिधिहरूले पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनले पु-याएको असरबारेमा विश्वको ध्यानाकर्षण गराइएको थियो । जलवायु परिवर्तनका प्रभाव बहुआयामिक भएकाले जलवायु वित्त व्यवस्थापनका लागि हानि नोक्सानीसमेत समेट्नुपर्ने उनीहरूको आह्वान थियो ।
कीर्गिस्तानका राष्ट्रपति सद्यर जापारोभले जलवायु परिवर्तनका असरले पर्वतीय क्षेत्रका पारिस्थितिकीय प्रणाली र त्यहाँका जनताको जीवनशैलीमा पारेको असरबारे ध्यानाकर्षण गराउँदै यसमा संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको सचिवालयले कार्य योजना बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका समस्याका बारेमा जानकारी गराए । मन्त्री शाहीले निरन्तर बढ्दो तापमान र विश्वभर बढ्दो जलवायु जन्य घटनाहरू सँगै, नेपालले हालै विनाशकारी प्राकृतिक विपद बेहोर्नुपरेको उल्लेख गरे । हालैको वर्षा र त्यसका कारण आएको बाढी पहिरोमा परी दुई सय ५० बढीको मृत्यु र धेरै भौतिक क्षति पुर्याएको जानकारी उनले गराए ।
वन सचिव डा.दीपककुमार खरालले नेपालमा बर्सेनि जलवायुजन्य विपद्का कारण हिमालय पग्लने र समुद्रको सतह वृद्धि हुने जस्ता समस्यालाई सँगै मिलेर समाधान गर्नु आवश्यक रहेको उल्लेख गरेका थिए । पर्वतीय क्षेत्रमा हुने जलवायु जन्य प्रकोपहरूको प्रभाव केवल पर्वतीय क्षेत्रमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले त्यसका असर तटीय क्षेत्रहरूमा पनि देखिने गरेको उनको बताए ।
बाकु कोपमा विश्वका एक सय ९३ मुलुकका राष्ट्रप्रमुखदेखि अन्य उच्च व्यक्तित्वहरू सहभागी छन् । सम्मेलनको उच्च स्तरीय सत्रमा भने ४० देशका राष्ट्रपति वा उपराष्ट्रपति र ३५ देशका प्रधानमन्त्री सहभागी थिए ।
आगामी मङ्सिर ७ गतेसम्म चल्ने कोप–२९ मा जलवायुजन्य जोखिम न्यूनीकरण गर्न र मुलुकको समग्र हितका लागि मुख्यगरी छ वटा विषयलाई उच्च प्राथमिकतामा राखी नेपाली प्रतिनिधि तथा विज्ञहरू कोपमा उपस्थित भएका छन् ।
मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव डा सिन्धुप्रसाद ढुंगानाका अनुसार जलवायु वित्त, जलवायुजन्य हानिनोक्सानी न्यूनीकरण, कार्बन व्यापार, उत्सर्जन मापन, पर्वतीय मुद्दा, प्रविधि र क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकूलन, समावेशिताका छ विषयगत कार्यपत्र तयार गरिएका छन् ।
यस वर्षको सम्मेलन नयाँ वित्तीय प्रतिबद्धतामा केन्द्रित छ । जसलाई ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल (एनसिक्युजी)’ नाम दिइएको छ । एनसिक्युजी वा ‘फाइनान्स कोप’ भनेर चिनिने नयाँ लक्ष्य यस सम्मेलनमा छलफल हुने र सन् २०२५ देखि प्रभावकारी हुने लक्ष्य राखिएको छ ।
कोप–२९ को मुख्य उद्देश्य जलवायुसम्बन्धी चुनौतीहरूको सामना गर्ने कमजोर देशहरूलाई सहयोग गर्न वित्तीय लक्ष्यहरूमा सम्झौताहरू सुरक्षित गर्नु हो । त्यस्तै कोप–२९ का विषयले वित्त, ऊर्जा सङ्क्रमण, मानव पुँजी, जैविक विविधता, खाद्य सुरक्षालगायत जलवायुका पक्षहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया