काठमाडौं । ललितपुर महानगरपालिकाले संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक एवम् वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई सम्मान गरेको छ । साथै नगरपालिकाले उनीहरूका लागि सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गर्ने निर्णय समेत गरेको छ ।
महानगरपालिकाले बिहीबार एक विज्ञप्ति जारी गर्दै महानगरको कलासंस्कृति, सम्पदा संरक्षणमा योगदान दिने व्यक्तित्वको कदर गर्दै सम्मान र पुरस्कार गर्दै आइरहेको जनाएको छ । सम्मानस्वरुप अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनु परेको अवस्थामा लाग्ने सबै खर्च समेत महानगरपालिकाले व्यहोर्ने निर्णय गरेको छ ।
‘ललितपुर महानगरपालिकाले कलासंस्कृति, सम्पदा संरक्षणमा अनवरत रूपले सक्रिय रहनुहुने व्यक्तित्वको योगदानको कदर गर्दै सम्मान र पुरस्कृत गर्ने गरेको छ । ललितपुर महानगरपालिकाले यसअघि पनि संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मान स्वरूप सवारीसाधन, सुरक्षाकर्मी र सञ्चार साधन उपलब्ध गराएको स्मरण गर्दछु । यसै क्रममा महानगर निवासी संस्कृति शिरोमणि, अनुसन्धानकर्ता एवम् पुरातात्त्विक श्री हरिराम जोशी (जन्म मिति वि.सं.१९९२) र संस्कृतिविद्, अन्वेषक एवम् वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थ (जन्म मिति वि.सं. १९९९) लाई सम्मान स्वरूप उहाँहरूको दिनचर्यालाई सहज बनाउन सवारीसाधन, सुरक्षाकर्मी र सञ्चारसाधनको व्यवस्था गर्ने निर्णय गरेको छ । साथै, अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनु परेको अवस्थामा लाग्ने सम्पूर्ण खर्च समेत महानगरपालिकाले व्यहोर्ने निर्णय भएको छ,’ महानगरप्रमुख चिरीबाबु महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
संस्कृति शिरोमणि जोशीका पुस्तकहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यपुस्तकको रूपमा समावेश भएका छन् ।
संस्कृतिका विविध विधामा जोशीद्वारा लिखित तीन दर्जन भन्दा धेरै पुस्तक सार्वजनिक छन् । यसै गरी संस्कृतिविद् कायस्थद्वारा लिखित पाँच दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएकोमा विश्वविद्यालयको पाठ्यपुस्तकको रूपमा समावेश भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया