सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी 

लोकपथ
98
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचार गर्ने व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजित एकद्धार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले, पापी भएको कारण फिस्टुला रोग लाग्छ भन्ने अमानवीय परम्परागत मान्यता रहेको गुनासो गरे । 

फिस्टुला रोग जस्ता धेरै समस्यालाई अहिलेसम्म कानुनले पनि नदेखेको भन्दै यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी रहेको उनको भनाई छ । 

उनले भने, ‘फिस्टुलाको समस्या भएको महिलाहरू हुनुहुन्छ । उहाँहरूको पिसाब कन्ट्रोल हुँदैन । जन्मने बेला बच्चा लामो समय अड्किएपछि त्यो समस्या हुन्छ । तर परम्परागत मान्यता पापी भएको कारण यस्तो हुन्छ भन्ने रहेछ । घरभन्दा धेरै पर कटेरो बनाएर राखिदो रहेछ । यो भन्दा अमानवियता अरू केही हुन सक्छ ? त्यसैले सात वटा प्रदेशमा नै उपचार निःशुल्क हुने व्यवस्थाको लागि पहल गर्दैछौं । यस्ता धेरै समस्या छन् ,जसले कानुनले देखेको पनि छैन । यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी छ ।’

उनले महिला अधिकारको सन्दर्भमा भारत र अमेरिका लगायतका देशमा भन्दा नेपालको प्रतिनिधिसभामा समावेशिता रहेको बताए । सबै किसिमबाट समावेशीतालाई सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको भएतापनि समावेशिता अनुभूतिमा बद्लिन नसकेको उनको गुनासो छ । 

उनले भने, ‘महिला अधिकारको सन्दर्भमा नेपाल यस्तो देश हो जहाँ प्रतिनिधिसभा समावेशी छ । यस्तै समावेशी प्रतिनिधिसभा भारतमा पनि छैन । अमेरिकामा पनि छैन ।  सबै किसिमबाट समावेशीतालाई सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको छ । तर यसको बावजुत पनि समावेशिता अनुभूतिमा किन बद्लिन सकेको छैन । लैङ्गीक हिंसा अन्त्य हुन किन सकेको छैन ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?