टेकस्पायर स्टार्टअप एण्ड आइडिया फेस्ट सुरु, सय बढी डिजिटल स्टार्टअप र इन्नोभेसन सहभागी

लोकपथ
35
Shares

काठमाडौं । टेकस्पायर स्टार्टअप एण्ड आइडिया फेस्ट २०२४ सुररु भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहीबार बिहान ११ बजेदेखि फेस्ट सुरु भएको हो । शुक्रबारसम्म सञ्चालन हुने फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने छ ।

कार्यक्रमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सूचना प्रविधिको क्षेत्रमा तीन लाख रोजगारी सिर्जना गर्न आफूले काम गर्ने बताए ।

यस्तै, लिभिङ विथ आईसीटीका अध्यक्ष राजन लम्सालले डिजिटल इकोसिस्टम प्रवर्धन गर्न स्टार्टअप एण्ड आइडिया फेस्ट आयोजना गरेको जानकारी दिँदै सरकारले पूर्वाधार विकास, नीतिगत सुधार र डिजिटल गभर्नेन्समा काम गर्दै यो क्षेत्रको विकासमा अग्रसर हुनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग परिसंघको आईटी काउन्सिलका अध्यक्ष अजित शाहले स्टार्टअपको विकासका लागि सरकारले पछिल्लो समय केही प्रयास गरेको र त्यसलाई अझै बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कर्मसको स्टार्टअप एण्ड आइडिया कमिटीका अध्यक्ष पंकज जलानले डिजिटल भुक्तानीमा निःशुल्क हुनुपर्नेमा भ्याट लगाएर हतोत्साहित गर्ने काम भएको बताए ।

कार्यक्रममा बोल्दै टेकस्पायर कलेजका सीईओ तथा प्रिन्सीपल लक्ष्मण पोखरेलले स्टार्टअप र इन्नोभेसनमा काम गर्न चाहने विद्यार्थीलाई एक करोड बराबरको सिड फन्डिङको व्यवस्था गरेको र कलेजबाट वर्षमा कम्तिमा पनि १५ जना सीईओ उत्पादन गर्ने गरी अगाडि बढेको जानकारी दिए ।

यस्तै, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सदस्य सचिव रविन्द्र ढकालले राज्यले गर्नुपर्ने काम निजी क्षेत्रले गरिरहेको बताउँदै स्टार्टअप इकोसिस्टममा विकासका लागि मुख्यगरी रिसर्च, इन्नोभेसन, इन्क्युबेसन र प्रवर्धनमा काम गर्नुपर्ने बताए ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले छ वटा प्रदेशमा उद्यम सम्बद्धन केन्द्र स्थापना गर्न लागेको र त्यसका लागि २०–२० लाख बजेट प्राप्त भएको बताए ।

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले स्टार्टअप एण्ड आइडिया फेस्ट जस्ता कार्यक्रमले डिजिटल इकोसिस्टमलाई प्रवर्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

शुक्रबारसम्म सञ्चालन हुने फेस्ट बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने छ । १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसहरूको सहभागीता रहेको कार्यक्रममा स्टिम क्याम्प, रकेट साइन्स र रोबो सकरहरू सञ्चालन हुनेछन् ।

आईसीटी अवार्ड २०२४ को प्रि–इभेन्टको रूपमा आयोजना भएको फेस्टमा सातै प्रदेशबाट छनौट गरेर ल्याइएका ३० बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२४ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १० स्टार्टअप, १२ राइजिङ स्टार इन्नोभेसन तथा उत्कृष्ट १३ प्रडक्ट र सोसल इन्नोभेसनहरू प्रदर्शनीमा रहेका छन् ।

सातै प्रदेशबाट ल्याइएका स्टार्टअपहरुबाट हरेक प्रदेशका उत्कृष्ट एक एक स्टार्टअपलाई आईसीटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान पनि गरिने आयोजकले जनाएको छ । अवार्डको ग्राण्ड फिनाले आगामी पुस पाँच गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?