रवि पक्राउको विषयमा रास्वपाले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै

लोकपथ
196
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने तयारी गरेको छ ।

सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै रास्वपाले सडक आन्दोलन गरिरहेको छ ।

सभापति लामिछानेको पक्राउ र अनुसन्धान प्रतिशोधपूर्ण रहेको भन्दै रास्वपाले आपत्ति जनाइरहेको छ । सोही विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउन समय माग गरेको कार्यवाहक प्रवक्ता मनिष झाले लोकपथलाई जानकारी दिए ।

संसद्को चौथोँ ठुलो दलका नाताले सभापतिको विषय र अन्य राष्ट्रिय महत्वका विषयहरुमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागेको उनले बताए ।

‘आज हामी प्रतिपक्षमा भए पनि उहाँ हाम्रो पनि प्रधानमन्त्री हो । हामी संसद्को चौथोँ ठूलो दल हौँ , तर हामी चौथोँ शक्ति किन सडकमा छ भन्ने विषयमा समेत उहाँलाई जानकारी दिन लागेका हौँ,’ उनले भने, ‘हामीले सभापतिको विषय त उठाउँछौँ नै, त्यसका साथसाथै हामीले विभिन्न राष्ट्रिय महत्वका विषयमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन लागेका हौँ ।’

गत कार्तिक २ गते पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । रवि पक्राउ परेसँगै रास्वपाले पोखरा, काठमाडौं लगायत विभिन्न शहरहरुमा आन्दोलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?