रवि लामिछानेलाई पोखरा लैजान मौसम बाधक, सफा हुनेबितिक्कै लगिने

लोकपथ
84
Shares

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा बयानका लागि बुटवल लगिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज शुक्रबार कास्की लगिने भएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको रकम हिनामिनामा समेत संलग्न रहेको भन्दै बयानका लागि मंगलबार रूपन्देही लगिएको थियो ।

सुप्रिम सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम हिनामिनाका सम्बन्धमा अनुसन्धानका लागि लामिछानेसहित १२ जनालाई पक्राउ गर्न जिल्ला अदालत रूपन्देहीले गत कात्तिक ८ गते अनुमति दिएको थियो । मंगलबारदेखि तीन दिन लगातार बयान लिएर उनलाई कास्की नै लैजान लागिएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी डीएसपी लक्ष्मी खनालले लामिछानेलाई आज बिहान ७ः४० को बुद्ध एयरको उडानबाट कास्की लैजान लागिएको भएपनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मौसम सफा नभएका कारण ढिलाइ भएको बताइन् । मौसम सफा हुनेबित्तिकै पठाइने उनको भनाइ छ ।

रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको बचत हिनामिनाबारे अनुसन्धानका लागि लामिछानेलाई भैरहवा लगिएकोमा जिल्ला सरकारी वकिलको कार्यालयमा तीन दिन गरी झन्डै साढे २३ घन्टा बयान लिइएको थियो । यो अवधिमा उनलाई ७४ वटा प्रश्न गरिएको थियो । गोर्खा मिडिया र सहकारीको रकम हिनामिनासँग सम्बन्धित ७४ वटा प्रश्न सोधिएको प्रहरीले जनाएको छ ।

लामिछानेसँग जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलको कार्यकक्षमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डित र अन्य अनुसन्धान अधिकृतहरूले बयान लिएका थिए । अधिकांश प्रश्नमा लामिछानेले आफूलाई कुनै पनि जानकारी नभएको जबाफ दिएको बयानमा संलग्न अनुसन्धान अधिकृतले बताए ।

सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रूपैयाँ लामिछानेकै नाममा र १४ करोड २९ लाख रूपैयाँ उनी प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न व्यक्तिमार्फत पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?