मह जोडीको ‘मह जात्रा’लाई दर्शकको माया

लोकपथ
77
Shares

काठमाडौं । नेपालको हास्य–व्यंग्य विधामा विशिष्ट स्थान बनाएको मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) को १० वर्षपछि पुनः मञ्चमा फर्केको छ । यो जोडीको ‘मह जात्रा’ प्रहसनको पहिलो दिन दर्शकहरूको भव्य उपस्थितिमा सम्पन्न भएको हो।

दर्शकको सकारात्मक प्रतिक्रिया पाएको प्रहसन नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आयोजना गरिएको छ । मदनकृष्ण श्रेष्ठको स्वास्थ्य चुनौतीका बाबजुद हास्य–व्यंग्यमा निरन्तरता दिने अठोटले यो प्रस्तुति विशेष बनेको आयोजकको ठहर छ ।

हास्य–व्यंग्यको अनौठो मिश्रणसहित प्रस्तुत गरिएको ‘मह जात्रा’ ले दर्शकलाई समाजमा विद्यमान समसामयिक मुद्दाहरूलाई हँसाउने तरिकाबाट गम्भीर रूपमा सोच्न प्रेरित गर्यो । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, र सांस्कृतिक कुरितीहरूलाई हँसाउने शैलीमा प्रस्तुत गरेर दर्शकको मन जित्न सफल भयो । मह जोडीसँगै सहभागी कलाकारहरू किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, र विभुषा बस्नेत जस्ता चर्चित कलाकारहरूले पनि दमदार प्रस्तुति दिएका थिए ।

दर्शकहरूबाट यो प्रहसनले सकारात्मक प्रतिक्रिया बटुलेको छ । हास्यव्यंग्यको माध्यमबाट समाजका गहिरा विषयवस्तुहरूलाई उजागर गर्ने मह जोडीको शैली दर्शकहरूले निकै रुचाएका छन् । मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजित यो प्रहसनको बाँकी दिनहरूको टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । कार्यक्रम कात्तिक ३०, मंसिर १, ४, ५, ६, १२, १३, १७, र १८ गतेसम्म
जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?