काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै पार्टीबाट मन्त्री बनेका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)कै निर्माण कम्पनी कालोसूचीमा परेको भन्दै प्रश्न उठाएका छन् ।
शुक्रबार भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा भएको छलफलमा सहभागी हुँदै महामन्त्री शर्माले कांग्रेसको कांग्रेस जिल्ला सभापति समेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको उल्लेख गर्दै यसतर्फ राज्य व्यवस्था समितिको समेत ध्यान जानुपर्ने बताएका हुन् ।
उनले भने, ‘उहाँको कम्पनी कालोसूचीमा परेको कुरा आएको छ । यसमा उहाँले स्पष्ट पार्नुपर्छ । यसमा राज्यव्यवस्था समितिको पनि ध्यान जानुपर्छ । उहाँ आबद्ध एउटा संस्था कालोसूचीमा भन्ने विवरण आएको छ । उहाँको ध्यानाकर्षण गम्भीर रुपमा गराउन जरुरी छ ।’
त्यस्तै, उनले अर्को एक जना मन्त्रीले उपनिर्वाचन हुन लागेका ठाउँका उपप्रमुखहरु चलाएको भन्दै आपत्ति जनाए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त तथा प्रमुख अयुक्तको नियुक्तिका सन्दर्भमा समेत आवश्यक छलफल आवश्यक रहेको शर्माको भनाई छ ।
उनले भने, ‘हामी संविधान संशोधनको ढोकामा पनि उभिएका छौ । संविधानले नै टुंगो लगाएको विषय जुन यस विधेयकमा छैन । अख्तियारको आयुक्त र प्रमुख आयुक्तको नियुक्तिसँग सम्बन्धित व्यवस्था छ । अहिले संविधानमा जे व्यवस्था गरिएको छ । यो व्यवस्थाको अभ्यास हामीले विगतमा जति गर्यौ । जे अनुभव हामीले हासिल गर्यौ । अब त्यसलाई परिमार्जन गर्ने सन्दर्भमा राज्य व्यवस्था समितिको यो प्लेटफर्म मार्फत हामीले अलिकति बहस सुरु गर्न जरुरी छ । संविधान संशोधन हुने बेलामा हामी सबैको ध्यान केन्द्रित होस् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया