निजगढमा तिलगंगा सामुदायिक आँखा अस्पतालको सेवा सुरु, प्रत्येक वर्ष ५५ हजारले उपचार सेवा पाउने अपेक्षा

लोकपथ
49
Shares

निजगढ । तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियासँगको साझेदारीमा निजगढ न.पा-९ मा निर्माण सम्पन्न भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको सेवा सुचारु भएको छ । बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पतालको मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज उद्घाटन गरे ।

करिव ३० करोडको लागतमा बनेको यो अस्पतालमा हरेक वर्ष ५५ हजार बिरामीलाई उपचार प्रदान गर्न सक्ने क्षमता रहेको छ । यसैगरी, स्थानिय समुदायलाई गुणस्तरीय, सर्वसुलभ र पहुँच योग्य आँखा उपचार सेवा उपलब्ध गराउने विश्वास अस्पतालको छ ।
तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा.डा.सन्दुक रुइटले यस भेगमा गुणस्तरीय, सर्वशुलभ र पहुँचयोग्य अस्पताल ल्याउने सपना साकार भएको बताए । उनले दिगो र उच्च गुणस्तरको आधारभूत आँखा उपचार सेवा प्रदान गर्ने आफ्नो प्रतिवद्धतामा यो अर्को महत्वपूर्ण कदम भएको बताए ।

द फ्रेड हलोज फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत इयान विशार्टले अस्पताल, द फ्रेड हलोज फाउण्डेशनको लागि नयाँ अध्यायको सुरुवात भएको बताए । उनले यस अस्पतालको संचालनसँगै तिलगंगा आँखा प्रतिष्ठान, स्थानीय साझेदार र समुदायहरूसँग एक मजबुत र दिगो सम्बन्ध स्थापित गर्न सफल भएको बताए ।

नेपालमा करिव ९३ हजार तीन सयजना दृष्टिविहिन छन् र करिव सात लाख ८२ हजार सात सयजनाले कुनै न कुनै प्रकारको दृष्टि समस्या सहित जीवन व्यतित गरिरहेका छन् । अन्धोपनको भार मधेश प्रदेशमा देशकै दोस्रो उच्चतम स्थानमा रहेको छ । ८० प्रतिशत दृष्टि समस्याको उपचार सम्भव छ र अत्यन्तै कम लागतमा प्रभावकारी उपचार विधिहरूबाट यसको उपचार गर्न सकिन्छ ।

प्रतिष्ठान अन्तर्गतको निजगढ तिलगंगा सामुुदायिक आँखा अस्पतालले मोतिविन्दु, दृष्टिदोष, डाइबेटीक रेटिनोप्याथी र अन्य आँखा रोगहरूको उपचारमा ध्यान दिनेछ, जसका लागि अत्याधुनिक उपचार विधी र समग्र सेवा प्रदान गरिने अस्पतालले जनाएको छ । नेपालमा अन्धोपन र न्यून दृष्टिको प्रमुख कारण मोतिविन्दु हो । अन्धोपन भएका मध्ये अनुमानित ६६.८ प्रतिशत व्यक्ति मोतीविन्दुको कारणबाट भएको देखिन्छ ।

२३ हजार फिट क्षेत्रमा फैलिएको यो अस्पतालमा चार तला रहेका छन्, जसमा आँखा उपचारका लागि दुईवटा शल्यक्रिया कोठामा चारवटा वेड, ओपीडी (आउटडोर पेशेन्ट विभाग) र आईपीडी (डे केयर), एक पोष्ट अपरेटिभ वार्ड र इन–हाउस फार्मेसी र अप्टिकल स्टोर रहेको छ । विभिन्न विधाका विशेषज्ञद्धारा विशिष्टीकृत आँखा उपचार सेवा समेत प्रदान गर्ने अस्पतालले जनाएको छ ।

आगामी पाँच वर्षमा, यो अस्पतालले मधेश प्रदेशबाट अनुमानित दुई लाख ७४ हजार आँखा बिरामीको उपचार गर्ने लक्ष्य लिएको छ । यो अस्पतालले प्रत्यक्ष वा परोक्ष रुपमा यस क्षेत्रका ३० लाख भन्दा बढि व्यक्तिहरूमा गुणस्तरिय आँखा सेवाको पहुँच विस्तार गर्ने आकंलन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?