काठमाडौं । १० वर्ष विद्रोह गरेर मुलधारको राजनीतिमा आएको माओवादी भित्रका पनि विद्रोही पात्र हुन् मणि थापा । तीनै थापाको अहिलेको परिचय भने पूर्वमन्त्री, पूर्वमाओवादी नेता र पूर्वएमाले नेतामा मात्र सीमित बन्न पुगेको छ ।
उनको दैनिकी अहिले लेखपढ र सामान्य भेटघाटमा बित्ने गरेको छ । तत्कालीन नेकपा विभाजन भएपछि उनी माओवादी लिगेसी छाडेर एमालेतिर लागे । तर विद्रोही स्वभावका उनी त्यहाँ पनि धेरै समय टिक्न सकेनन् ।
माओवादी नेतृत्वको जग्जगीका बेला समेत पार्टीको बैठक बहिस्कार गरेर विद्रोह गरेका उनले एमालेभित्रको नेतृत्वको एकलौटी प्रवृत्ति स्वीकार गरेनन् । करिब ६ महिना खानेपानी मन्त्री बनेका उनले नेतृत्वको आलोचना गरेकै कारण पार्टीबाट निक्लिनुपर्ने अवस्था आइलाग्यो । नेकपा विभाजनपछि माओवादी धारबाट एमालेमा नै रहने उनीमात्र एक्ला भने होइनन् । उनीसहित रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु शाह लगायतका नेताहरु रहेका थिए । प्रभु शाहले एमालेले दिएको टिकट गोजीमा राखेर स्वतन्त्र उम्मेदवारी दिएर नयाँ पार्टी खोले भने टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा छन् । यता बादल र लेखराज भने एमालेमा सक्रिय छन् । तर एमाले पार्टी र त्यसको मुल नेतृत्व दक्षिणपन्थी धारमा गएको भन्ने अभिव्यक्ति दिएपछि उनीमाथि पार्टीले कडा निगरानी राख्न थाल्यो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको समेत सार्वजनिक मन्चबाटै आलोचना गरेका कारण एमाले छोडेका उनी अहिले राजनीतिक रुपमा भूमिकाविहीन छन् ।
उनी अहिले सामान्य भेटघाट र माओवादी आन्दोलनको उपलब्धी र क्रान्तिकारी धारलाई स्थापित गर्नुपर्छ भन्ने मान्यतामा देखिन्छन् । आफू अहिले माओवादीको क्रान्तिकारी धार स्थापित हुनुपर्छ भन्ने मान्यतामा लागेको र त्यसैको अध्ययन विश्लेषणमा लागेको लोकपथसँग बताए ।
‘माओवादीको जुन क्रान्तिकारी धार थियो, त्यसको राम्रोसँग अध्ययन गर्ने विश्लेषण गर्ने र त्यसलाई नयाँ ढंगले स्थापित गर्नुपर्छ भन्ने अध्ययनमा छु,’ थापाले लोकपथसँग भने, ‘रुपान्तरणसहितको माओवादी आन्दोलनको धुव्रिकरण र रुपान्तरण होस् भन्ने मेरो चाहना छ ।’
१२ बुँदे सझदारी र शान्ति प्रक्रियाको लागि महत्वपूर्ण मानिएको चुङवाङ बैठकबाट नै माओवादीले आफ्नो लिगेसी छाडेको उनको आरोप छ । यदी माओवादीले त्यसबेला सम्झौतातिर नलागेर युद्धलाई निरन्तरता दिएको भए आफूले सोचे अनुसारको व्यवस्था ल्याउन सक्ने र आफूले गरेको उपलब्धीलाई स्थापित गर्दै जनताको जनजीविका राम्रो बनाउन सक्नेथियो भन्ने उनको मान्यता छ । तर बिचमै क्रान्ति माओवादीले छाडेको दाबी गर्दै माओवादी आन्दोलनको मर्म अन्य दलहरुले बुझ्न नसक्ने भन्दै आफूले पूरानो क्रान्तिकारी धारलाई थप बलियो बनाउने काममा समर्पित गरेको उनी बताउँछन् ।
‘माओवादीका नेताहरु जति बिग्रिए पनि उसले माओवादी आन्दोलनको मर्म बुझ्न सक्छ तर एमाले कांग्रेसले कहिल्यै पनि त्यसको मर्मलाई बुझ्न सक्दैनन् । त्यसैले म अहिले त्यो आन्दोलनको मर्म बुझ्ने र पूरानो क्रान्तिकारी लिगेसी फर्काउने अभियानमा छु भन्दा हुन्छ । तर म अहिले माओवादी पार्टीभित्र होइन माओवादी स्कुलिङभित्र छु,’ उनले भने ।
पूराना सहकर्मीबारे धारणा
नेकपा विभाजनपछि एमालेमा रहेका नेताहरुसँग बेलाबेला उनको भेट हुन्छ । सामान्य ‘हाईहेल्लो’ सम्म भए पनि पार्टी जीवन र राजनीतिक विषयमा भने कमै कुरा हुने गरेका छन् । कम्युनिष्ट चरित्रले कहिल्यै पनि आफूभन्दा केही फरक चरित्र र लिगेसीलाई बुझ्न नसक्ने उनको धारणा छ । जसका कारण एमालेमा रहेका नेताहरुमा लिगेसीको समस्या रहेको हुनसक्ने उनको बुझाइ छ ।
पहिले प्रचण्डले एमालेसँग पार्टी एकीकरणको कुरा गर्दा त्यसलाई रोक्न आफूहरु लागेको र पछि पार्टी एकीकरण भइ विभाजन हुँदा त्यही एमालेमा रहनुपरेको पीडा पार्टीका नेताहरुमा रहेको उनी बताउँछन् ।
‘कम्युनिष्ट पार्टीमा एउटा स्कुलिङबाट अर्को स्कुलिङमा जाने कुरामा पाच्य हुँदैन । पहिले एमालेसँग मिल्न हुँदैन भन्ने धारणा हाम्रो थियो तर पछि पार्टी फुट्दा त्यहाँ पनि हामी नै रहँदाको अवस्थामा हामीलाई त्यति राम्रो चाँही राम्रो लागेको थिएन,’ उनले भने ।
अहिले एमालेमा रहेका नेताहरुलाई पनि हिजो एमालेमा लामो समय दुःख गरेका नेताहरुको गिद्धे हेराइमा स्वभाविक परेको उनको बुझाइ छ । तर प्रचण्डहरुको पुस्ताका नेताहरुपछि दोस्रो र तेस्रो पुस्ताका नेताहरु नेतृत्वमा आउने परिस्थिती बनेमा एमाले–माओवादी धारका नेताहरुले कम्युनिष्ट लिगेसीलाई साझा मानेर एक जहाँ पुगे पनि माओवादी धारलाई एक बनाउनसक्ने उनी बताउँछन् ।
‘छोडेर गएको पार्टी एमालेमा जान पनि नैतिक ताकत नहोला । पुनः माओवादीमा जाँदा पनि रैथाने माओवादीले भगौडा भन्ला भन्ने डर पनि उत्तिकै छ । नयाँ परिस्थिती र दोस्रो जेनेरेसन आएमा सबै मिल्न सक्छन्,’ उनले भने ।
चुङवाङ बैठकको विद्रोहदेखि एमालेबाट छुटकारासम्म
उनको विद्रोहको कथा जतिबेला माओवादी ७ राजनीतिक दलसँग १२ बुँदे सझदारी गर्दैथियो त्यतैबाट सुरु हुन्छ । माओवादी पार्टीको राजनीतिक जीवनमा नै महत्वपूर्ण मानिएको २०६२ असोजमा सम्पन्न चुङवाङमा बसेको केन्द्रीय कमिटी बैठकले १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने निर्णय गर्यो, त्यतैबाट उनको राजनीतिको विद्रोहको कथा सुरु हुन्छ ।
जतिबेला माओवादीका नेताहरु पार्टीको निर्णयको विरुद्ध चुइक्क गर्न सक्दैनथे, त्यतिबेला उनीसहित रविन्द्र श्रेष्ठले बैठक बहिस्कार गरेर पार्टीबाट विद्रोह गरे । १२ बुँदे समझदारी त्यसमाथि पनि भारतमा हुने विषयमा एकमत हुन नसकेपछि उनले बैठक मात्रै बहिस्कार गरेनन्, माओवादी पार्टी नै परित्याग गरे । युद्ध नसकिँदैको अवस्थामा माओवादी छाडे पनि युद्ध समाप्त भइ शान्ति स्थापना भइ दुईवटा निर्वाचन सम्पन्न भएपछि उनी पुनः माओवादीमा मिसिन आइपुगे । ०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा प्रचण्ड बहुमत पाएको माओवादी ०७० सम्म आइपुग्दा तेस्रो पार्टी बन्न पुगेपछि पूर्व माओवादी धारहरु एक बन्नुपर्ने लाइनका साथ उनी माओवादीसँग जोडिन आइपुगे । तर माओवादीलाई जोडेर ठूलो आकारमा देखाएर प्रचण्डले एमालेसँग बार्गेनिङ गर्न थालेको आरोप लगाउने थापा लगायतका नेताहरुले सुरुमा एमालेसँग लिगेसी नमिल्ने भन्दै असन्तुष्टी जनाएका थिए ।
तत्कालीन समयमा माओवादी पार्टीका रुपमा अन्तिम बैठकमा फरक मत राखे पनि एमालेमा मिल्ने नीति पार्टीले लिएपछि त्यतैतिर लागे पनि पार्टी लामो समय टिक्न सकेन । टुटफुटको राजनीतिको कोपभाजनमा परेपछि एमालेमै रहे पनि उनको एमालेसँगको सम्बन्ध समेत राम्रो हुन सकेन । पार्टीमा केपी शर्मा ओलीको एकलौटी निर्णय साथै पार्टीलाई व्यक्तिकरण गरेपछि उनले एमालेलाई दक्षीणपन्थी धारमा रहेको पार्टी र नेतृत्व भनेर आलोचना गरेपछि उनीमाथि एमाले नेताहरुको व्यवहार फेरिन थाल्यो । जसको कारण उनी पार्टीबाट अलग हुने निर्णय गर्दै भूमिकासहितको राजनीतिभन्दा स्वतन्त्र राजनीतिमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया