टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो

लोकपथ
231
Shares

काठमाडौं । टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले पराजित गरेको छ । ४ खेलको सिरिजमा शुक्रबार राति जित निकालेसँगै भारतले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो । 

जोहानेसबर्गमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले सञ्जु सामसन र तिलक वर्माको शतकीय पारिले निर्धारित २० ओभरमा जम्मा १ विकेट गुमाएर २८३ रनको विशाल योगफल तयार पारेको थियो ।

जवाफमा घरेलु टोली दक्षिण अफ्रिका १८।२ ओभरमा १४८ रन मै समेटियो । लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको सुरुवात निकै खराब रह्यो । उसले पावरप्लेमा ४ विकेट गुमाएको थियो । ट्रिस्टन स्टब्स र डेभिड मिलरले सम्हाल्ने प्रयास गरे पनि यी दुई ब्याट्सम्यान आउट भएपछि दक्षिण अफ्रिकी टोलीले ‘कमब्याक’ गर्न सकेन र ठुलो स्कोरको पराजय भोग्न बाध्य बन्यो ।

दक्षिण अफ्रिकाका लागि स्टब्सले सर्वाधिक ४३ रन बनाए भने मिलरले ३६ रन बनाएका थिए । मार्को जोन्सनले १२ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै २९ रनमा नटआउट रहे । 

दक्षिण अफ्रिकाका ७ ब्याटरले दोहोरो अंकमा रन स्कोर गर्न असफल भए । भारतका लागि अर्शदीपले ३ विकेट लिँदा वरुण चक्रवर्ती र अक्षर पटेलले समान २–२ विकेट हात पारे । यसै गरी हार्दिक पाण्ड्या, रमनदीप सिंह र रवि बिश्नोईले एक एक विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि पहिला ब्याटिङ गर्दा भारतले उत्कृष्ट सुरुवात गरेको थियो । सञ्जु सामसन र अभिषेक शर्माबीच पहिलो विकेटका लागि ७३ रनको साझेदारी भएको थियो । उक्त साझेदारीलाई लुथो सिपामलाले तोडेका थिए । उनले छैटौँ ओभरमा अभिषेकलाई क्लासेनको हातबाट क्याच आउट गरे । उनी ३६ रन बनाएर मैदानबाट बाहिरिए । त्यसपछि विकेटकिपर ब्याट्सम्यान सञ्जुसँग दोस्रो विकेटका तिलक बर्माले ८६ बलमा २१० रनको नटआउट साझेदारी गरे । 

 दुवैको शतकीय पारीका कारण भारतको स्कोर २८० भन्दा माथि पुगेको थियो । सञ्जुले ५६ बलमा ६ चौका र ९ छक्का प्रहार गर्दै १०९ रन बनाए भने तिलक वर्माले ४७ बलमा १० छक्का र ९ चौकाको मद्दतले १२० रन बनाए । सामसनले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक र तिलकले दोस्रो शतक बनाए । यी दुवैले यस सिरिजमा दुई–दुई शतक प्रहार गरेका छन् ।

रनको हिसाबले दक्षिण अफ्रिकाको सबैभन्दा ठुलो हार भएको छ । यसअघि सन् २०२३ मा अस्ट्रेलियासँग १११ रनले पराजित भएको थियो । रनको हिसाबले यो खेल भारतको यो सबैभन्दा ठुलो जीतको सूचीमा तेस्रो स्थानमा समावेश भएको छ । गत वर्ष भारतले घरेलु मैदानमा न्यु जिल्यान्ड १६८ रनले पराजित गरेको थियो भने २०१८ मा आयरल्यान्डलाई १४३ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?